किन हुन्छ व्यक्ति हत्या ?

पत्रपत्रिकाबाट

शनिबार, २२ पुस २०७४, ०७ : २६
किन हुन्छ व्यक्ति हत्या ?

राजधानीको शान्तिनगरमा नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या भयो । सार्पसुटरको गोली प्रहारबाट भएको गौचनको हत्या भारतीय आपराधिक समूहबाट भएको आकलन धेरैले गरेका थिए ।

लोप्साङ लामाले प्रहरी र केही सञ्चारमाध्यममा फोन गरी घटना मनोज पुनले गराएको जानकारी दिए । त्यो सूचनालाई प्रहरी संगठनकै केही अधिकृतले चर्चामा आउन र आफूलाई स्थापित गर्न जिम्मेवारी लिएको भन्दै हाँसोमा उडाए ।

घटना अनुसन्धान गर्न बनेको अनुसन्धान कार्यदल र केन्द्रीय अनुसन्धान ब्युरोले गौचनको लगानीबारे तथ्य बाहिर ल्यायो । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैंटेको साढे दुई करोड रुपैयाँ गौचनले आफ्नो डाँफे कन्ट्रक्सनमा लगानी गरेका थिए । त्योमध्ये एक करोड रुपैयाँ अर्का गुन्डा नाइके समीरमानसिंह बस्नेतले दाबी गरेको रहस्य खुलेको थियो ।

गौचनलाई पटकपटक फोनमार्फत पैसा फिर्ता गर्न वा वीरगन्जदेखि विराटनगर जोड्ने हुलाकी राजमार्गको ठेक्काको दुई प्रतिशत आफूलाई दिन समीरले पटकपटक धम्क्याए । गौचनले मानेनन् । उनको गोली हानी हत्या गरियो । गौचन र मनोज पुन एउटै ग्याङमा रहेर काम गर्दै आएका थिए ।

गौचनको हत्यामा बस्नेतसँगै पुनको पनि संलग्नता रहेको दाबी प्रहरीको छ । राज्यको सुरक्षा निकायलाई ठाडै चुनौती दिएर गराइएको यो घटनालाई कम आँक्न मिल्ने अवस्था थिएन । शुक्रबार बिहान बुटवलको देवदहमा अर्का फर्निचर व्यापारी वसन्त पौडेल बलुको गोली हानी हत्या भयो । हत्याको जिम्मेवारी पुनले लिएका छन् । पुनले एक वर्षअघि युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका थिए ।

कारण थियो, पुनले थुप्रै व्यवसायीबाट चन्दा असुली गरेका थिए । तिवारीले त्यसको विरोध गरे र पुनलाई कारबाही गरे । त्यसको रिसमा पुनले तिवारीको हत्या गरे । तिवारी र शुक्रबार बिहान हत्या गरिएका बलुको सम्बन्ध घनिष्ट थियो । तिवारी हत्या मनोज पुनले नै गराएको जानकार एक मात्रै व्यक्ति थिए बलु ।

सरकारले भैरहवालाई लगानी गर्न सुरक्षित रहेको घोषणा गत वर्ष मात्रै गरेको थियो । तर, भैरहवा पछिल्लो समय धेरै असुरक्षित बन्दै आएको पछिल्ला घटनाले देखाएको छ । काठमाडौंमा गौचनको हत्या भएपछि बस्नेत र पुनले रुपन्देही र काठमाडौंका थुप्रै व्यापारीलाई धम्क्याएर पैसा असुली गरेको अनुमान प्रहरीको छ ।

नेपालमा भएका केही ठूला हत्याकाण्डमा भारतीय आपराधिक गिरोहको संलग्नता देखिए पनि पछिल्ला समय नेपालभित्रैका गुन्डा समूह भारतमा लुकीछिपी बसेर हत्याकाण्ड मच्चाइरहँदा यसले सुरक्षा निकायमा थप चुनौती देखिएको छ ।

पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी व्यक्ति हत्या खासगरी तीन प्रकारले हँुदै आएको तर्क गर्छन् । ठकुरीका अनुसार पहिलोमा क्षणिक आवेग, दोस्रोमा आफ्नो दबदबा देखाउन र तेस्रो, घटनाको जिम्मेवारी लिएर पैसा असुली गर्न हुने गरेको छ ।

उनका अनुसार अहिले रुपन्देहीको भैरहवा र बुटवलमा भएका घटना त्रासमा राखेर पैसा असुल्नकै लागि गराइएका घटना हुन् ।

प्रतिक्रिया दिनुहोस