धर्म परिवर्तन गराउन नेपालमा अर्बौं लगानी : थापा

सफल खबर संवाददाता

बुधबार, २६ मंसिर २०७५, ११ : २९
धर्म परिवर्तन गराउन नेपालमा अर्बौं लगानी : थापा

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले नेपालीहरुले पुस्तौंदेखि मान्दै आएका सनातन हिन्दू धर्म परिवर्तन गराउन पश्चिमी राष्ट्रहरुले अर्बौं लगानी गरिरहेका दाबी गरेका छन् । 
आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले नेपाली जनताको गरिबी र अशिक्षाको फाइदा उठाउँदै पश्चिमी राष्ट्रहरुले धर्म परिवर्तनको लागि अर्बौं पैसा बगाइरहेको दावी गरे । उहाँले भन्नुभयो, ‘पैसाले धर्म किनिएको छ, राष्ट्र धर्म निरपेक्ष भएपछि १२ वर्षमा १० लाख नेपालीलाई धर्म परिवर्तन गराइएका छ ।’
गरिबी, अशिक्षित नेपालीलाई लोभलालचमा फसाएर धर्म परिवर्तन गराइएको अध्यक्ष थापाको भनाइ थियो । उहाँले भन्नुभयो, ‘संगठित र योजनाबद्ध तरिकाले धर्म परिवर्तन गराइएको छ । नेपाली राष्ट्रिय एकतालाई कमजोर पारिएको छ ।’
यसअघि सरकारकै संलग्नतामा ‘एसिया प्याफिक समिट’का नाममा काठमाडौँमा भएको सम्मेलनको पनि अध्यक्ष थापाले विरोध गर्दै भन्नुभयो, ‘यस्ता कार्यक्रमले सनातन हिन्दू धर्ममा आस्था राख्ने नेपालीहरुमाथि  गम्भीर चोट पयाएको छ ।’
उहाँले सरकारको संलग्नतामा भएको यस्ता कार्यक्रमले नेपालको धार्मिक सांस्कृतिक अवस्था खलबलिने बताउनुभयो । 
अध्यक्ष थापाले धर्मजस्तो विषयमा जनमत संग्रह गर्न नहुने उहाँको भनाइ थियो । पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘जतमत संग्रहमा जान पर्ने अवस्था आयो भने राप्रपा तयार छ, त्यसो भयो भने ९० प्रतिशत जनता हिन्दू राष्ट्रको पक्षमा उभिनेछन् ।’
राप्रपाले देशव्यापी रुपमा हिन्दू राष्ट्र पुनस्र्थापना गर्न जनदबाब कार्यक्रम गरिरहेको उहाँले बताउनुभयो । उहाँले फागुन ७ गतेदेखि राप्रपाले हिन्दूराष्ट्र पुनसर््थापनाको लागि जनदबाबसहितको आन्दोलनका कार्यक्रम गर्न लागेको बताउनुभयो । उहाँले हिन्दूराष्ट्रको पक्षमा उभिनेसँग सहकार्य गरेर आन्दोलनमा जान सकिने बताउनुभयो । 
 

प्रतिक्रिया दिनुहोस