महन्थ ठाकुर र राजेन्द्र महतोमा को बरिष्ठ ?

आइतबार, २३ मंसिर २०७५, १६ : २६
महन्थ ठाकुर र राजेन्द्र महतोमा को बरिष्ठ ?

काठमाडौँ । रामजानकी विवाहोत्सवमा सहभागी हुन राजपा अध्यक्षमण्डलका पूर्वसंयोजक महन्थ ठाकुर र मौजुदा संयोजक राजेन्द्र महतो जनकपुर जाने भएका छन् । महोत्सवका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभिन्न राजनीतिक दलका नेतासहित उनीहरु दुवैजनालाई आमन्त्रण गरेका छन् । तर, महोत्सवक्रममा हुने केही औपचारिक समारोहमा ठाकुर र महतोको मर्यादाक्रम कसरी निर्धारण गर्ने भन्नेमा प्रदेश सरकारसमेत अन्योलमा छ ।
‘लामो राजनीतिक इतिहास, ज्येष्ठ वय र परिपक्व व्यक्तित्व भएकाले निश्चित रूपमा ठाकुरजी नै मर्यादाक्रममा माथि रहनुहुनेछ तर महतोको जिम्मेवारी अध्यक्षमण्डलको संयोजक र त्यस पार्टीमै ठाकुरजी अध्यक्षमण्डलको सदस्य भएकाले के गर्ने भन्ने अन्योल छ,’ प्रदेश २ सरकारका एक अधिकारीले भने ।
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव हरि फुयालले संघीय गृह मन्त्रालयको सूचीका आधारमा कार्यक्रमका सहभागीको मर्यादाक्रम तोकिने बताए । ‘पार्टी्भित्र कसको हैसियत के छ भन्दा पनि राज्यको मर्यादा सूची को कहाँ छन् भन्ने कुराले हाम्रो लागि अर्थ राख्छ,’ उनले भने, ‘यसअनुसार नै हामी कार्यक्रममा सहभागीको व्यवस्थापन गर्नेछौं ।’ ठाकुर र महतोको सन्दर्भमा भने सूची नै हेर्नुपर्ने उनले बताए ।
गृह मन्त्रालयका अनुसार राज्यको मर्यादाक्रम सूचीमा पूर्वमन्त्री आठौं स्थानमा हुन्छन् । ठाकुर र महतो दुवैजना पूर्वमन्त्री हुन् । तर, महतोभन्दा अघि नै ठाकुर मन्त्री भइसकेका नेता हुन् । यता प्रतिनिधिसभामा विपक्षी दलका नेता सातौं मर्यादाक्रममा छन् ।
सूचीमा मुख्य विपक्षी नभनिएकाले राजपा नेपालका संसदीय दलका नेतासमेत रहेका ठाकुर यस दृष्टिले महतोभन्दा मर्यादाक्रममा माथि छन् । यद्यपी सरकारलाई समर्थन गर्ने दललाई विपक्षी दलका रूपमा परिभाषित गर्न सकिन्न । तर, राजपाले सदनभित्र आफूलाई विपक्षी दलका रूपमा प्रस्तुत गर्दैआएको छ ।
ठाकुर विवाहोत्सवमा सहभागी हुन मंगलबार जनकपुर जाँदैछन् । उनलाई स्वागत गर्न विमानस्थलमा जम्मा हुनका लागि तत्कालीन तमलोपाका नेताकार्यकर्ताले सामाजिक सञ्जालमार्फत आह्वान गरिरहेका छन् ।
यसअघि पार्टी अध्यक्षमण्डल संयोजक भएलगत्तै आफ्नो संसदीय क्षेत्र जनकपुर पुगेका महतोलाई अरू बेलाभन्दा विशिष्ट ढंगले विमानस्थलमा स्वागत गरिएको थियो ।
मर्यादाक्रम सम्बन्धमा जिज्ञासा राख्दा राजपा अध्यक्षमण्डल संयोजक महतोले भने, ‘विवाहपञ्चमीका लागि पार्टीका सबै अध्यक्ष बोलाइएका छन् । भोज खाने बेलामा मर्यादाक्रम हेरिँदैन ।’

प्रतिक्रिया दिनुहोस