काठमाडौँ । नेपाली काँग्रेसमा महाधिवेशनको विषयमा विवाद चर्किरहेका बेला नेता डा. नारायण खड्काले पार्टीलाई सहमतिका साथ अगाडि बढाउनुपर्ने बताएका छन् ।
महाधिवेशनको विषयमा देखिएको विवादले पार्टीमा विभाजन ल्याउन सक्ने खतरा औँल्याउँदै उनले पार्टीलाई सहमतिका साथ अगाडि बढाउनुपर्ने बताएका हुन् ।
‘पार्टीलाई सहमतिका साथ हामीले अगाडि बढाउनु पर्छ । पार्टीमा विभाजन, विग्रह गराएर कसैको पनि हितमा छैन, ‘नेता खड्काले भने, ‘नभए हामी हिँडेछौँ भनेर कसैको पनि भलो छैन । यसले कसैको भलो गर्दैन, लोकतन्त्रको भलो गर्दैन, देशको भलो गर्दैन ।
पार्टीमा एकता नभएसम्म जो कोही नेतृत्वमा आए पनि केही नहुने उनको बुझाइ छ । पार्टीलाई विखण्डनतर्फ लगिएर ठुलो क्षति पुग्ने नेता खड्काले बताए ।
‘पार्टीमा एकता नभए जो–कोही नेतृत्वमा आएर पनि हुने वाला केही पनि छैन । पार्टीलाई विखण्डन गरेर मुलुकलाई झन् ठुलो क्षति हुन्छ’, उनले भने, ‘विखण्डनतिर लाग्ने मान्छेहरूलाई पनि जनताले सकारात्मक रूपमा नहेर्न सक्छन् ।’
मुलुक अहिले अत्यन्त संकटमा रहेका भन्दै केन्द्रीय सदस्य खड्काले दलहरू निर्वाचनमा नगए झन् ठुलो संकट आउने पनि बताए । ‘फेरी अहिले क्रिटिकल आवर छ, अहिले देश अत्यन्त संकटमा छ,’ उनले भने, ‘निर्वाचन भएन भने अर्को ठुलो संकट छ, यसलाई मध्यनजर गरेर हामी जानुपर्छ ।’
विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको भावनालाई सम्मान गर्नै पर्ने खड्काले बताए । ‘अब महाधिवेशनको कुरा आएको छ । पार्टीमा छलफल भइरहेको छ,’ उनले भने, ‘गत महाधिवेशनका २४ सय ८८ प्रतिनिधिले हस्ताक्षर गरेको कुरालाई पनि हामीले सम्मान गर्नुपर्छ ।’
हस्ताक्षरकर्ताको प्रतिनिधित्व गरेरै महामन्त्री गगनकुमार थापाले केन्द्रीय समिति बैठकमा कार्यतालिका पेश गरेको हुन सक्ने भन्दै उनले उक्त कार्यतालिका पारित गरेर महाधिवेशनमा जान सकिने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ मंसिर २०८२, १२ : १९
लेखकबाट थप