राजनीति

उपचारको अभाव भएमा विरामीले अदालतमा मुद्दा दिन पाउँछ : प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, २१ मंसिर २०७५, १४ : ५४
उपचारको अभाव भएमा विरामीले अदालतमा मुद्दा दिन पाउँछ : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कोही मान्छेले उपचारको अभावले दुःख पायो भने उसले अदालतमा मुद्दा दिन पाउने बताएका छन् । 

वंशाणुगत रोगसँग सम्बन्धित पहिलो सम्मेलनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले संविधानले शिक्षा, स्वास्थ्य र रोजगारी पाउने नागरिकको हकलाई सुनिश्चित गरेको उल्लेख गर्दै ती अधिकार प्राप्त नभए न्यायको खोजीमा अदालत जाने पाउने व्यवस्था ऐनमै गरिएको  स्मरण गराएका हुन् ।

उनले अब सरकार जनताको चासो र चिन्तालाई सम्बोधन गर्नेतर्फ केन्द्रित रहेको दावी समेत गरे । जनअपेक्षाअनुसार काम नभएको दावी गर्दै आलोचना भइरहँदा अध्यक्ष प्रचण्डले नौं महिने कार्यकालमा ‘धेरै ठूलो’ र ‘ऐतिहासिक महत्व’ को कार्य सम्पादन गरेको भन्दै सरकारको बचाउ गरे । 

उनले भारतसँगको डुबान समस्या समाधान गर्नु, चीनसँग पारवाहन सम्झौंता गर्नु, रेल सेवा सञ्चालनका लागि दुवै मुलुकसँग समझदारी गरेर अघि बढनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै त्यतापट्टि ध्यान दिन पनि उनले सरकारको आलोचकहरुलाई आग्रह गरे ।

अध्यक्ष प्रचण्डले चुनावमा गरिएको प्रतिबद्धता चार वर्षभित्र पूरा गर्ने संकल्प पनि कायमै रहेको स्पष्ट पारे । सरकारले धेरै ठूलो काम गरिरहे पनि त्यतातिर ध्यान पुग्न नसकेको अध्यक्ष दाहालको भनाई छ ।


 

प्रतिक्रिया दिनुहोस