चितवन जिल्ला अदालतबाट सेवा सुरु

सफल खबर संवाददाता

सोमबार, ३० भदौ २०८२, ११ : ४५
चितवन जिल्ला अदालतबाट सेवा सुरु

चितवन । चितवन जिल्ला अदालतले आजदेखि सीमित सेवा सञ्चालन गरेको छ ।

जेन जेड आन्दोलनका क्रममा क्षतिग्रस्त भएको अदालतले सामान्य सेवाहरू सुरु गर्न लागेको हो ।

कार्यालयका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार आजदेखि बन्दी प्रत्यक्षीकरण निवेदनमा कारबाही गरिने, म्याद थप, जरुरी पक्राउ पुर्जीसहितका सेवा सञ्चालन गर्न लागिएको हो । उनले भने, “एउटा कोठाबाट दिन सकिने सामान्य सेवाहरू आजदेखि सुरु गरिएको छ ।” अदालतले यही भदौ २४ गतेदेखि आन्दोलनका कारण सेवा दिन सकेको थिएन ।

अन्य नियमित सेवा, मुद्दा सुनुवाइलगायत काम कारबाही अर्को सूचना जारी गरेर जानकारी दिइने उनले बताए । 

प्रदर्शनकारीले आगजनी गर्दा अदालत भवन पूर्ण रूपमा क्षति भएको छ । अदालतको भौतिक संरचनासहित महत्त्वपूर्ण मिसिल, सर्भरलगायतमा क्षति पुगेको छ । उनले भने, “संरचना बन्दै जाँदा सेवा विस्तार र थप गर्दै लगिनेछ ।”

प्रतिक्रिया दिनुहोस