रास्वपामा उम्मेदवार विवाद

लेखजंगलाई पहिलो श्रीमतीसँगको छोडपत्रको प्रमाण ल्याउन निर्देशन

सफल खबर संवाददाता

मंगलबार, १७ भदौ २०८२, ०९ : १५
लेखजंगलाई पहिलो श्रीमतीसँगको छोडपत्रको प्रमाण ल्याउन निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कात्तिक १७ मा हुन लागेको रुपन्देही ३ मा वरिष्ठ न्यूरोलोजिस्ट डाक्टर लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तर, निर्णय सार्वजनिक भएसँगै थापा बहुविवाहको आरोपमा विवादमा परेका छन् ।

दुईवटी श्रीमती रहेको र दुवैसँगै राखेर बसेको बहुविवाह गरेको आरोप उनीमाथी छ । नेपालको कानुनले बहुविवाहलाई मान्यता दिएको छैन । उनी विवादमा परेपछि रास्वपाले डा. थापालाई पहिलो श्रीमतीसँगको सम्वन्ध छोडपत्रको प्रमाण ल्याउन निर्देशन गरेको रास्वपा स्रोतले बताएको छ ।

उनलाई कार्यवाहक सभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री विपिनकुमार आचार्य लगायतले  उम्मेदवार बनाउन जोडबल गरेपछि रास्वपाले उम्मेदवार बनाएको थियो । तर सभापति रवि लामिछाने उनको पक्षमा थिएनन । रास्वपा स्रोतका अनुसार, लामिछाने सुलभ खरेललाई उम्मेदवार बनाउन चाहन्थे । रास्वपाले  रुपन्देही–३ मा उम्मेदवार छनौटका लागि प्रारम्भिक मतदानलाई पाइलट प्रोजेक्टका रुपमा प्रयोग गर्ने विधि बनाएको र त्यही आधारमा उम्मेदवार चयन गरेको बताएको छ ।

रास्वपा स्रोतका अनुसार प्रारम्भिक मतदानमा सबैभन्दा बढी मत ज्ञानु पौडेलले ल्याएकी थिइन् । सहकारी अभियन्ता एवं महिला सशक्तीकरणका क्षेत्रमा काम गरेकी पौडेल स्थानीय रुपमा घुलमिल भएकी व्यक्ति हुन् । तर टिकट डा. थापाले हात पारे ।

उनी ०७९ को चुनावमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीमा थिए । उनी उक्त पार्टीबाट लुम्बिनी प्रदेश सभाका लागि समानुपातिक तर्फका उम्मेदवार सूचीमा ९ औं नम्बरमा थिए ।

नागरिक उन्मुक्ति पार्टी छोडेर थापा गत जेठमा मात्र रास्वपा आएका थिए । त्यसपछि उनी रास्वपाबाट रुपन्देही ३ मा आकांक्षी उम्मेदवारका रुपमा खडा भएका थिए ।

विवादमा पर्ने देखिएपछि शुरु देखि नै उम्मेदवार छनोटको विषयमा उपसभापति डा. स्वर्णिम वाग्ले र प्रवक्ता मनीष झा भने मौनजस्तै बसेका थिए ।

उम्मेदवारको अन्तिम टुंगो लगाउने दिन उम्मेदवारका आकांक्षीले नख्खु कारागारमा रहेका रवि लामिछानेलाई भेटेका थिए । त्यसभेटमा आकांक्षीहरुले थापाले निर्वाचन छनौट विधिमा अवैध मानिएको गोप्य रूपमा क्यामरा सहितको चस्मा प्रयोग (क्यामरा चालु अवस्थामा अडिओ, भिडिओ मोडमा) गरेको, बहुविवाहको आरोप रहेको र नागरिक उन्मुक्तिको समानुपातिक बन्दसूचीमा अझै नाम रहेको जस्ता उजुरी रविसँग पनि गरेका थिए । अन्य आकांक्षी उम्मेदवारले सुरुदेखि नै कार्यवाहक सभापति अर्याल र सहमहामन्त्री विपिन आचार्य डा. थापालाई नै उम्मेदवार बनाउन लागिपरेको सूचना पाएपछि पार्टीमा थापाका विरुद्धमा उजुरीसम्म दिएका थिए ।

तर उनीहरुले सभापति रवि लामिछानेलाई मनाएर उम्मेदवार थापालाई नै बनाईछाडे । त्यसपछि थापा बहुविवाहको आरोपमा विवादमा आए ।

उम्मेदवार बन्न रास्वपाले निर्णय गरेपछि डा. थापाले सोमबारका लागि पत्रकार भेटघाट कार्यक्रम तय गरेका थिए । तर उनको बहुविवाहको आरोप आएपछि उनलाई पार्टीले नै पत्रकार सम्मेलन स्थगित गर्न निर्देशन दियो । त्यही निर्देशनका आधारमा उनले हिजोका लागि बोलाइएको पत्रकार सम्मेलन स्थगित गरे ।

केही नेताहरुले सोमबार नै उम्मेदवार सुरुमै विवादमा आएपछि के गर्ने भनेर सभापति लामिछानेसँग परामर्श गरेका थिए । लामिछानेले उम्मेदवार तय गरेपछि फिर्ता गर्न पनि अप्ठयारो, नगर्दा पनि बहुविवाहको आरोप लागेपछि के गर्ने भन्ने अप्ठ्यारो अवस्थामा पार्टी पुगेको बताएका थिए ।

रुपन्देही ३ मा रास्वपाको क्रमशः माहोल बनिरहेका बेला उम्मेदवारमाथी लागेको आरोपले गम्भिर बनाएको लामिछानेले आफुलाइृ भेटन पुगेका नेताहरुसँग बताएको रास्वपा स्रोतले बतायो ।

रास्वपाका नेताहरुले उम्मेदवार थापालाई लामिछानेसाग भेटन जानु अगाडी बहुविवाहका बारेमा प्रश्न गरेका थिए । थापाले आफुले पहिलो श्रीमतीसग सम्वन्ध विच्छेद गरेरै दोस्रो विवाह गरेको बताएका थिए । आवश्यक पर्दा प्रमाण दिन सकिन्छ, मैले पहिलो विवाहको सम्वन्ध विच्छेदपछि मात्रै दोस्रो विवाह गरेको हुँ, थापाले रास्वपा नेताहरुलाई दिएको प्रष्टिकरणमा भनेका थिए ।

उनले त्यस्तो भनेको कुरा रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले रास्वपाको केन्द्रीय कमिटिको गुप्रमा राखेका थिए । त्यसपछि उनलाई रास्वपा नेताहरुले आज (मंगलबार) बेलुकीसम्म पहिलो श्रीमतीसँग छोडपत्र गरेको प्रमाण ल्याउन निर्देशन दिएको रास्वपा नेताहरुले बताएका छन् ।
‘डा. थापालाई छोडपत्रको प्रमाण ल्याउन र यदि प्रमाण ल्याउन नसके पार्टीले उम्मेदवार छनौटको निर्णयमा पूर्नविचार गर्नसक्ने भनी नेताहरुले भनिसक्नुभएको छ,’ रास्वपाका एक नेताले सफलखबरसँग भने,‘ उहाँ (डा. थापा)लाई मंगलबार बेलुकीसम्म पहिलो श्रीमतीसँगको छोडपत्रको प्रमाण ल्याउन भनिएको छ ।’

डा. थापाका दुवै श्रीमतीसँग सम्वन्ध राम्रो भएको र दुवै मिलेरै डा थापासँगै बस्ने गरेको आरोप उनीमाथी लागेको छ । डा. थापाका सुलोचना घिमिरे (पहिलो) र नुमा शर्मा (दोस्रो) ले सामाजिक सञ्जालहरूमा राखेका फोटा र भिडिओमा पनि उनीहरू तीनै जना सँगै देखिएको, चाडवाडदेखि अन्य समयमा पनि उनीहरूले राखेका फोटाहरूले उनीहरूले सामाजिक सञ्जालमा राख्ने गरेको, जेडी तर्फका बच्चा डा. थापासँगै रहेको जस्ता आरोप छन् । तर थापाले भने सम्वन्ध विच्छेदपछि मात्र दोस्रो विवाह गरेको पार्टी नेताहरुलाई जानकारी गराएका छन् । पार्टीले सम्वन्धविच्छेदको पत्र ल्याउन भनेको छ ।

कांग्रेस, एमालेले रुपन्देहीमा रास्वपाको पक्षमा बन्दै गएको माहोल विगार्न र सत्ताको दुरुपयोग गरेर अन्तिम समयमा उम्मेदवारी नै खारेजी र रद्दसम्म गराउन यही विषयलाई आधार बनाएर अनेक गर्न सक्ने आशंका पनि केही रास्वपाका नेताहरुलाई छ । सोहीकारण पनि उम्मेदवारी दर्ता नगर्दै डा. थापाको विषयमा प्रष्ट भएर जानुपर्नेमा रास्वपाका नेताहरु पुगेका छन् । सोहीकारण पनि डा. थापालाई पहिलो श्रीमतीसँगको छोडपत्रको प्रमाण ल्याउन रास्वपाले निर्देशन गरेको रास्वपाका एक नेताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस