मानसिक रोगको समस्या तीव्र रूपमा बढ्दै गएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह

सफल खबर संवाददाता

शुक्रबार, ३० साउन २०८२, १२ : ४९
मानसिक रोगको समस्या तीव्र रूपमा बढ्दै गएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह

काठमाडौँ । नेकपा (एमाले)की सांसद इन्दिरादेवी गौतमले देशभर मानसिक रोगको समस्या तीव्र रूपमा बढ्दै गएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेकी छिन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आग्रह गरेकी हुन् । 

उनले बेरोजगारी, आर्थिक सङ्कट, लागुऔषध सेवन लगायतका कारण मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको उल्लेख गर्दै यस विषयमा गम्भीर बन्न उनले सरकारको ध्यानाकर्षण गराइन् । मानसिक रोग उपचार गर्ने स्वास्थ्य संस्था र मनोचिकित्सकको सङ्ख्या सीमित भएकाले उपचारको अवस्था कमजोर रहेको बताउँदै उनले ग्रामीण क्षेत्रमा सेवा अझै भरपर्दो रूपमा नपुगेको उल्लेख गरिन् । गौतमले मानसिक स्वास्थ्यका लागि मनोचिकित्सक विशेषज्ञ, परामर्शदाता र आवश्यक सम्पूर्ण उपचार व्यवस्थाको विस्तार गर्न समेत माग गरिन् । 

बढ्दो मानसिक समस्याका कारण भविष्यमा समाजमा गम्भीर सङ्कट पैदा हुनेतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।  

प्रतिक्रिया दिनुहोस