काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–५ स्थित कालोपुलबाट क्रिप्टो र हुन्डी कारोबार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । दुई जना भारतीय नागरिक सहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–३ घर भएका २७ वर्षीय ओम प्रकाश जयसवाल, महागढीमाई–५ घर भएका २५ वर्षीय मनमोहन कुमार सिंह, भारतीय नागरिकद्वय ३३ वर्षीय विक्रम जयसवाल र ३३ वर्षीय मुन्ना जयसवाल छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका इन्स्पेक्टर शत्रुधन महतोको नेतृत्वमा खटिएको प्रहरीले आरोपीहरूको साथबाट १५ लाख ३३ हजार नगद पनि बरामद गरेको छ । अनुसन्धानको क्रममा उनीहरुले ६ करोड ६ लाख बराबरको क्रिप्टोको कारोबार गरेको भेटिएको एसपी बोहराले जानकारी दिए ।
आरोपीहरूले कालोपुलमा डेरा लिएर त्यहाँबाट हुन्डी र क्रिप्टो कारोबार गर्दै आएका थिए । उनीहरु विरुद्ध प्रहरीले हुन्डी र क्रिप्टो सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० साउन २०८२, १२ : ११
लेखकबाट थप