सफलताको कथा

यस्तो छ यमलालको कार्यालय सहयोगीदेखि वडा अध्यक्षसम्मको यात्रा

सुरेन कुँवर

विहीबार, १३ मंसिर २०७५, १३ : ५०
यस्तो छ यमलालको कार्यालय सहयोगीदेखि वडा अध्यक्षसम्मको यात्रा

चितवन : भरतपुर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष यमलाल कँडेललाई आफू कुनै दिन महानगरको वडा अध्यक्ष हुन्छु भन्ने लागेकै थिएन । समयले आज उनलाई त्यही जिम्मेवारी सुम्पिएको छ । यो सफलतामा जनताको कामप्रतिको उनको निष्ठा, इमान, त्याग र समर्पणले महत्वपूर्ण भूमिका खेलेको छ ।

२०२३ सालमा बाग्लुङको बिहुँमा जन्मिनु भएका कँडेलको परिवार २०२६ सालमा चितवन झर्‍यो  । १३ बर्षकै उमेरमा बुबाको मृत्यु भएपछि घरको भार उनीमाथि आइपर्‍यो  । आर्थिक अवस्था कमजोर र पैतृक सम्पति नभएका कारण हातमुख जोड्न मुश्किल पर्‍यो  । साना साना भाई, बहिनी भएकाले सबै घर व्यवहार उनले सम्हाल्नु पर्ने अवस्था आयो । पारिवारिक जीवनलाई अगाडि बढाउन गाह्रो थियो । आफ्ना दुई भाई, दुई बहिनी र आमाको पालनपोषण र शिक्षादिक्षा गर्ने उनको अभिभारा थियो ।
कँडेल सम्झन्छन, ‘बुवा वडा नम्बर ९ को सामाजिक कार्यक्रममा सक्रिय हुनुहन्थ्यो । उहाँ कसैलाई पनि नचिढाउने खालको हुनुहुन्थो । त्यसकारण वडा नम्बर ९ का जनताले मप्रति माया, ममता राखिरहे । जागिर खाए पनि आफ्नो वडामा सेवा गर्नुपर्छ भन्ने लाग्यो ।’

एसएलसी पास गरेसँगै परिवारको लालनपालनका लागि कुनै एउटा पेशा अँगाल्नुपर्ने बाध्यता भएपछि कँडेलले तत्काीलन भरतपुर नगरपालिकामा कारार सेवामा कार्यालय सहयोगीको रुपमा काम गर्न सुरु गरे । २०४९ सालदेखि कार्यालय सहयोगी भएर काम सुरु गरेका कँडेलले १३ बर्षसम्म सोही पदमा काम गरे । १३ बर्षपछि उनले कार्यालय सहयोगीबाट राजीनामा दिए । त्यसपछि उनको पारिवारिक अवस्थाका कारण वडा नम्बर ९ मै आएर भर्‍याङ बोकेर सडक बत्ती मर्मतको काममा हिँडे । यस्तो गरिरहँदा सामाजिक कार्यमा उनको निकै चासो थियो । कामप्रतिको लगाव र इमान्दारीले उनलाई अघि बढ्न प्रेरित गर्‍यो  ।

२०५५ सालमा तत्कालीन भरतपुर नगरपालिकामा मुखिया पदको लागि आवेदन खुल्यो । ३ सय ७० जनाले मुखिया पदका लागि लिखित परीक्षा दिए । उनले सातौँ नम्बरमा नाम निकाले । लिखितमा उत्तीर्ण भएपनि अन्तरवार्तामा उनको नाम निस्किएन् । त्यसबेला उनी तत्कालीन मेयर मुक्तिलाल चुके, उपमेयर जगन्नाथ पौडेलको क्षेत्रमा काम गर्थे । उनलाई धेरै पढेकासँग प्रतिस्पर्धा गरेर सातौँ स्थानमा नाम निक्लिएपछि थप केही गर्न सक्छु भन्ने ऊर्जा थपियो । कार्यालय सहयोगी भएपनि कार्यालयको छैठौँ तहसम्म काम गर्न सक्ने खुबी उनीमा थियो । ठुलो अवसर पाए काम गर्न सक्छु भन्ने उनलाई लाग्यो ।

उनले भनसुन गर्नुपर्ने ठाँउमा भनेर थप मिहिनेत गरे । तत्कालीन नगरपलिकाका कार्यकारी अधिकृत शिवदत्त भट्टराईले कार्यालय सहयोगीबाट राजीनामा दिन सुझाएका थिए । कार्यालय सहायकको रुपमा राखेर सचिवको रुपमा काम गर्ने गरी करारमा उनलाई नियुक्त गरियो । पहिलादेखि वामपन्थी विचारधारा भएकाले तल्लोस्तरका वर्गलाई सेवा गर्नुपर्ने धारणा उनमा थियो । उनी त्यही वर्गका कामलाई प्रथामिकतामा राखेर काम गर्ने गरेको स्मरण गर्छन् ।

कार्यालय सहयोगी भएपनि सचिवसम्मको जिम्मेवार लिन सक्ने उनको दक्षता थियो । उनले फेरि तत्कालीन भरतपुर उपमहानगरपालिकामा मुखिया पदमा रही काम थालनी गरे । १० बर्ष मुखिया पदमा तेस्रो श्रेणीमा बसेर काम गरे । उनको कार्यकौशलकै कारण तत्कालीन उपमहानगरपालिकाले आफ्नै वडा भरतपुर ९ को सचिवको रुपमा पठायो । ३ बर्षसम्म आफ्नै वडाको सचिव भएर काम गरेसँगै उनको भरतपुर वडा ११ मा सरुवा भयो ।

कँडेललाई सचिव भएर काम गरेर बसौँ भन्ने लागेन । उनले सचिवबाट पनि राजीनामा दिए । कँडेल भन्छन्, ‘नगरपालिका र वडा कार्यालयको सेवामा रहँदा सेवाग्राहीको काम गरेर जनमत बटुलिरहेको थिएँ । वडा सचिव रहँदा पक्की घर निर्माण गर्नुपर्छ भनेर लागेको भए बनाउन सक्थेँ । मलाई कहिल्यै पनि त्यस्तो गरौँ जस्तो लागेन । म त्यो प्रलोभनमा परेको भए अहिले वडा अध्यक्ष हुने थिइन ।’ आफूले गर्ने कर्मलाई इमानदार भएर गर्दै जाने, फलको आशा नगर्ने हो भने सफलता मिल्ने उनी बताउँछन् । शुद्ध मानव सेवा गरेकाले अहिले वडा अध्यक्षको जिम्मेवारी पाएको उनी बताउँछन् ।

त्यसपछि उनी विभिन्न संघसस्थामा आवद्ध भए शरदपुर वाचनालय, त्रिपुरेश्वर कृषि सहकारीमा सचिव भएर काम गरे । कार्यालय सहयोगीको रुपमा काम गर्दा जनतासँग भिजेका कारण उनले तत्कालीन नेकपा एमाले वडा कमिटिमा बसेर काम गर्ने अवसर पाए । कमिटिमा सचिवसम्मको जिम्मेवारी सम्हाले । हिजोको दिनमा जनतासँग भिजेर काम गरेकोले उनले स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा उठ्ने निधो गरे । पार्टीले पनि विश्वास गरेर टिकट दियो ।
‘मैले चुनाव जित्छु भन्ने धेरैले विश्वास गरेका थिएनन्’ कँडेल भन्छन्, ‘मलाई भने चुनाव जित्छु भन्ने भित्री मनमा थियो ।’ तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बनेका कँडेलले १ हजार ५सय ३५ मत प्राप्त गरे । उनी तत्कालीन नेकपा माओवादी केन्द्रका ज्ञानकुमार श्रेष्ठलाई ९ सय ५४ मत अन्तरले पछि पारेर वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
स्थानीय जनतासँग चीरपरिचित भएकाले विकास निर्माणको काममा सजह भइरहेको उनी बताउँछन् । वडाबासीहरुलाई यमलालले ढिलोचाँडो काम गर्छ भन्ने विश्वास रहेको उनले बताए । ‘मैले अवसर पाइसकेँ । उहाँहरुले मत दिएर यहाँसम्म ल्याइदिनुभयो’ कँडेल भन्छन्, ‘मैले बाटो पहिल्याएर अघि बढ्दै जानुपर्छ । काम गर्ने तर फलको आशा नगर्ने नै सफलताको सूत्र हो ।’

 

प्रतिक्रिया दिनुहोस