देवघाट क्षेत्र विकास समितिमा पदाधिकारी नियुक्त

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०८२, १४ : २९
देवघाट क्षेत्र विकास समितिमा पदाधिकारी नियुक्त

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देवघाट क्षेत्र विकास समितिका नवनियुक्त पदाधिकारीलाई मंगलबार नियुक्ति पत्र प्रदान गर्दै इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् । 

सात सदस्यीय समितिमा दुई जना महिलासहितको समावेशी संरचना रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले देवघाट क्षेत्र गुरूकुलका गतिविधिका कारण चलायमान रहेको र त्यसले क्षेत्रको जीवन्तता कायम राखेको बताए । उनले भने,“यदि गुरूकुल नै हटाइयो भने यहाँ शून्यता हुनेछ । त्यसैले नयाँ पुस्तामा ज्ञान, चेतना र पुनर्जागरण ल्याउने वातावरण निर्माण गर्नुपर्छ ।”

मन्त्री पाण्डेले देवघाटमा महाकुम्भजस्ता भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने सम्भावना रहेको उल्लेख गर्दै वाग्मती र गण्डकी प्रदेश सरकारसँगको सहकार्यका साथै निजी क्षेत्रलाई आकर्षित गरी अवसर उपयोग गर्न सुझाव दिए ।

चितवन, नवलपुर र तनहुँजस्ता भौगोलिक तथा सामाजिक दृष्टिले अनुकूल स्थानमा अवस्थित देवघाटको पर्यटन र सांस्कृतिक महत्त्व अझ उँचो बनाउन सकिने विश्वास व्यक्त गर्दै उनले समितिका पदाधिकारीलाई अनुकरणीय काम गर्न अपेक्षा गरे । 

“मन्त्रालय नीतिगत र कानुनी रूपमा सहयोग गर्न सधैँ तयार छ,” मन्त्री पाण्डेले भने, “यो कुनै लाभको पद होइन, जिम्मेवारीको पद हो । गठन आदेश अध्ययन गरी त्यसअनुसार काम गर्नुहोस् ।”

सो अवसरमा मन्त्रालयका सचिव हरि मैनालीले राजधानीबाट नजिक र सुविधाजनक स्थानमा रहेको देवघाटले पर्यटन तथा सांस्कृतिक क्षेत्रमा थप प्रगति गर्ने विश्वास व्यक्त गरे ।

नवनियुक्त पदाधिकारीमा अध्यक्ष ईश्वरीराज लौडारी, सदस्यहरू चन्द्रमित्र पण्डित (चितवन), लक्ष्मण सुवेदी (चितवन), सालिकराम सापकोटा (नवलपरासी), यु कुमारी शर्मा (नवलपरासी), रामहरि पुडासैनी (तनहुँ) र इन्द्रमाया थापा मगर (तनहुँ) रहेका छन् । 

प्रतिक्रिया दिनुहोस