अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस

आफन्त, छिमेकी र विश्वासपात्रबाटै महिलामाथि बढी हिंसा

सफल खबर संवाददाता

आइतबार, ०९ मंसिर २०७५, १७ : ०७
आफन्त, छिमेकी र विश्वासपात्रबाटै महिलामाथि बढी हिंसा

आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस । हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यबद्धता जनाउन र जनचेतना कायम राख्न यो दिवस मनाइँदै आइएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसकारुपमा मनाउने निर्णय गरेको हो ।
नेपालमा पनि यो दिवस विभिन्न क्रियाकलाप र कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइँदै छ । 
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा महिला हत्या, हिंसा बलात्कारविरुद्ध निरन्तर लाग्नुभएकी महिला अधिकारकर्मी संगीता भट्टराईसँग सफल खबरका पत्रकार बाबु कृषभले कुराकानी गरेर तयार पारेको सामग्री :

महिलामाथि हुने हिंसा झन्झन् बढ्दो
नेपाली समाजमा महिलामाथि हुने हिंसा झन्झन् बढिरहेको छ । विभिन्न अध्ययनहरुले संसारभरिका प्रत्येक तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगिरहेका छन् । 
नेपालमा पनि धेरै महिला हिंसाका घटना बढिरहेका छन् । कतिपय महिला हिंसा सार्वजनिक भएका छन्, तर अझै पनि महिलामाथि भएका धेरै योनजन्य हिंसाहरु बाहिर आउन सकिरहेको छैन । भित्रभित्रै त्यस्ता हिंसाहरु दवाइएको छ । 
संसारभरिका ३५ प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक या यौनजन्य हिंसाको शिकार भएका हुन्छन् भन्ने एउटा तथ्यांकले देखाएको छ । 
चितवनमा पनि महिला हिंसा बढिरहेको छ । सहर होस् वा ग्रामीण भेग यहाँ महिलामाथि हुने हिंसा बढि नै रहेको तथ्यांकहरु छन् । यसको न्यूनीकरण हुन सकेको छैन । 
विशेष गरी ग्रामीण भेगमा मदिरा सेवन गरेर गरिने हिंसा बढेको पाइन्छ । धेरैजसो महिलामाथि हुने हिंसा उनका आफन्त, निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भइरहेको छ । 

सृष्टिदाता नारी नै हिंसाको शिकार 
नारी सृष्टिदाता हुन् । नारी बिना संसारको कल्पना गर्न सकिदैन । नारी पात्र अर्थात् महिलाको भूमिका मानव जीवनको विकासक्रममा अभूतपूर्व छ, पूज्य छ । आमाको कोखबाट शुरु हुने मान्छेको जिन्दगी क्रमशः दिदी बहिनीको माया, श्रीमतीको साथ, समाजको सह–अस्तित्व हुँदै अगाडि बढ्दछ । तर आज त्यही नारी हिंसाको शिकार हुनुपरेको छ । 
कञ्चनपुरको घटना ताजै छ, आज निर्मला पन्तका परिवारले न्याय पाइरहेका छैनन् । यो पासविक हो । एउटी बालिकामाथि बलात्कार गरेर मृत्युको मुखमा पु¥याइएको छ । यो भन्दा पासविक अर्को कुन हुन सक्छ ? तर यहाँ राज्य निरीहजस्तो भएको छ । 
स्थानीय सरकार बनेको छ, तर हिंसाका घटनाहरु दिनानुदिन बढिरहेका छन् । हाम्रो समाजमा पुरुष हैकमवादी सोच हटेको छैन । पुरुषले जे गर्न पनि छुट दिने हाम्रो समाजको पुरातन सोचले पनि महिला हिंसा बढाएको छ । एउटी छोरी आज बाबुबाट बलात्कार भइरहेकी छे, एउटी छोरी आज दाईको योनजन्य हिंसामा परेकी छे । यो के हो त ? सृष्टिदाता नारी हिंसाको शिकार भइरहँदा समाज मुकदर्शक बनिरहेको छ । समाजको पुरातन सोच हटाउन जरुरी छ । सचेतना दिन आवश्यक छ । गाउँगाउँमा बलात्कार र योनजन्य हिंसाको चेतना फैलाउनु छ । 
संसारकै श्रृष्टि थेग्ने यिनै नारी पात्रहरु आजपनि संसारभरी नै हिंसाका शिकार भइरहेका छन् । आज यही प्रकृतिका पर्याय अनि मानव सृजनाकी प्रतिमूर्ती नारी अर्थात् महिलाहरु प्रति हुने कुनैपनि हिंसा विरुद्धको दिवस हो । यसलाई सार्थक र सफल बनाउनुपर्छ । 

शुक्ष्म तरिकाले अध्ययन गर्न जरुरी 
कुनै किशोरी, बालिका वा महिला हिंसामा पर्छन् । त्यहाँ दोषीलाई भन्दा पनि हिंसामा परेकी बालिका, किशोरी महिलालाई पीडित बनाइएको हुन्छ । हाम्रो समाजमा त्यो पनि देखिएको छ । यौनजन्य हिंसाको शुक्ष्म तरिकाले अध्ययन गर्न जरुरी छ । हिंसाको विश्लेषण गर्न खाँचो छ । समाजमा हिंसाको घटना किन घटेको छ, कसरी घटेको छ अब कारबाही प्रक्रियाले मात्र हुँदैन अध्ययन अनुसन्धान हुन जरुरी छ । साइबर अपराधहरु बढेका छन् । किशोरकिशोरी लक्षित कार्यक्रमहरु ल्याउन जरुरी छ । विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई यौनजन्य हिंसासम्बन्धी बारेमा अवगत गराउँदै सचेतनाका कार्यक्रमहरु ल्याउन जरुरी छ । कानुन छ, कार्यान्वयन भएको छैन । कानुनहरु कार्यान्वयन ल्याउन जरुरी छ । महिला हिंसा हत्यामा बनेका कानुनहरुलाई कार्यान्वयन गर्न सके पनि यौनजन्य हिंसाका घटनाहरुमा कमी आउने थिए । 


 

प्रतिक्रिया दिनुहोस