काजकिरिया नगरी सात दिनमा श्रद्धाञ्जली सभा

सफल खबर संवाददाता

शनिबार, ०८ मंसिर २०७५, १७ : ४३
काजकिरिया नगरी सात दिनमा श्रद्धाञ्जली सभा

चितवन । भरतपुर–१ रामनगरकी देवकी रिमालको गएको मंसिर २ गते निधन भयो । तर उनका छोराछोरी, बुहारी र परिवारका अन्य सदस्यहरुले भने परम्परागत ढंगको काजकिरिया गरेनन् । 

हिन्दु धर्म अनुसार १३ दिनसम्म गर्नुपर्ने काजकिरिया नगरी पहिलेजसरी नै घरपरिवार, छिमेकी र आफन्तसँग भेटघाट गरिरहे । आमाप्रति श्रद्धा गरिरहे । शनिबार आमाको निधन भएको सात दिन मात्र पुगेको थियो । शनिबार नै आमाको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम राखेर आमाप्रति उनीहरुले थप श्रद्धा व्यक्त गरे ।

रिमाल परिवारले यसलाई समाज रुपान्तरणका लागि सामाजिक अभियान भनेको छ । क्यान्सर रोगका कारण देवकीको निधन भएको थियो । ‘केही आफन्तहरूले परम्परागत रूपले काजकिरिया गर्नुपर्छ भन्ने विचार राखे पनि हामी पाँच भाइले आफ्नै ढङ्गले मृत्युपछिका क्रियाकलाप अघि बढाउँदै आएका छौं । त्यसै गरियो ।’– छोरा प्रेम रिमालले श्रद्धाञ्जली कार्यक्रममा भने, ‘आमाको बचाउका लागि हाम्रो हैसियतबाट सक्ने गरियो तर सफलता मिलेन । मरेपछि गरिने पुरातन गतिविधि हाम्रो रूचिको विषय बनेको थिएन र छैन पनि ।’

सांस्कृतिक रूपान्तरणको विषय काङ्ग्रेस वा कम्युनिष्टको विषय नभएको उनले बताए । परिवारमा ३ भाइ वामपन्थी अनि २ भाइ काँग्रेसप्रति आस्था राख्छन् । तर सांस्कृतिक रूपान्तरणको अभियानमा उनीहरुको एउटै मत रह्यो । यसअघि २०६४ सालमा बुवाको मृत्यु हुँदा पनि उनीहरुले काजकिरिया गरेका थिएनन् । 

श्रद्धाञ्जली कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवम् नेकपाका नेता अमिक शेरचन प्रमुख अतिथि थिए । रिमाल परिवारले गरेको यो अभियानलाई साहसको रुपमा आफूले लिएको र समाजले यसलाई पछ्याउनुपर्ने शेरचनको भनाई थियो । 
कार्यक्रममा नेकपा प्रदेश नं. ३ का अध्यक्ष नारायण दाहाल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, नेपाली काँग्रेस चितवनका उपसभापति कैलाश कोइराला, पूर्व सभापति विकास कोईराला, नेकपाका केन्द्रीय सदस्य ईश्वरी भट्टराईलगायतले शोक मन्तव्य राखेका थिए । 

आफूहरुले गरेको यो अभियानलाई राम्रो मान्नेहरूप्रति आभारी हुँदै देवकीका छोरा रमेश रिमालले धन्यवाद दिए । अनि आलोचना गर्नेहरूप्रति पनि उनले कुनै गुनासो गरेनन् । यस्ता विषयमा थप छलफल चल्नुपर्ने उनको भनाई थियो । 

प्रतिक्रिया दिनुहोस