चितवनमा भिरबाट हाम फालेकी श्रीमतीको मृत्यु, श्रीमान् घाइते

सफल खबर संवाददाता

बुधबार, ११ असार २०८२, १२ : ०९
चितवनमा भिरबाट हाम फालेकी श्रीमतीको मृत्यु, श्रीमान् घाइते

चितवन । चितवनको राप्ती नगरपालिका-४ मा एक चेपाङ दम्पतीले भिरबाट हाम फालेका छन् । भिरबाट हाम फालेकी श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालका अनुसार घरायसी झगडा भएपछि श्रीमान्–श्रीमती दुईजनाले सँगै भिरबाट हाम फालेको थिए । भिरबाट हाम फालेकी राप्ती नगरपालिका-४ चौकीडाँडा बस्ने ४२ वर्षकी कुमारी प्रजा चेपाङको मृत्यु भएको छ भने उनका श्रीमान् ४७ वर्षीय लिलाबहादुर प्रजा चेपाङ गम्भीर घाइते भएका छन् ।

घाइते लिलाको भरतपुर अस्पतालको उपचार भैरहेको छ । उनको कानबाट रगत बगेको छ भने कुममा चोट लागेको प्रहरीले जनाएको छ । हाम फालेकी कुमारीको ढुंगामा ठोकिएर मृत्यु भएको बताइएको छ ।

मंगलबार मध्याह्नतिर उनीहरूले खहरे खोलाको भिरबाट हाम फालेका थिए । दुई जनाले झगडा गरी सँगै भिरतर्फ गएको डीएसपी खनालले बताए । राप्ती नगरपालिका-४ का वडाध्यक्ष केदार आचार्यले चेपाङ दम्पती मदिरा सेवन गरेर झगडा गरेको र श्रीमती भिरबाट हाम फाल्न खोज्दा श्रीमानसमेत लडेको स्थानीयले आफूलाई जानकारी गराएको बताए ।

वडाध्यक्ष आफैं पनि घटनास्थल पुगेका थिए । वडाध्यक्ष आचार्यले स्थानीयको भनाइ उद्धृत गर्दै भने, ‘श्रीमान् श्रीमती कतैबाट मदिरा सेवन गरेर आए, बेलाबखत झगडा पनि गर्थे, श्रीमतीले म हाम फालेर मर्छु भनेर हाम फाल्दा श्रीमानले बचाउन खोज्दा उनी पनि तल खसे ।’

वडाध्यक्ष आचार्यका अनुसार उनीहरू जम्मा १० मिटर मात्रै तल खसेका थिए । ‘मान्छे नै मरिहाल्ने ठाउँ छैन, श्रीमतीको टाउकोमा ढुंगा ठोक्किएर मृत्यु भएको हुन सक्छ, श्रीमान् ढुंगामा न ठोकिएकोले घाइते मात्रै भएका हुन सक्छ’, वडाध्यक्ष आचार्यले भने, ‘त्यस्तो धेरै डेप्थ कुरा हो जस्तो मलाई लाग्दैन, चेपाङहरुमा ठूलो महत्वकाक्षा पनि हुँदैन, झगडा गर्ने मिल्ने भैरहन्छ ।’

वडा नंं ४ र ५ को सिमाना पर्ने सो ठाउँमा जम्मा ७ घर जति मात्रै चेपाङहरु बसोवास गरेको वडाध्यक्ष आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस