काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले इजरायल र इरानमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ज्वालाले इजरायल र इरानबीच युद्ध चर्किंदै गएकाले क्षति हुनुअघि नै नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘इजरायल र इरानबीच युद्ध चर्किएको छ । इजरायलमा केयर गिभर, कृषि फार्ममा काम गर्ने कामदार र विद्यार्थी गरी पाँचदेखि सात हजार नेपाली छन् । इरानमा पनि एक दर्जन जति नेपाली छन्,’ सांसद ज्वालाले भने, ‘उनीहरूको जीवन रक्षाको लागि सरकारले तत्काल कूटनीतिक र अन्य आवश्यक पहल गरोस् ।’
क्षति भएपछि खोजी गर्ने कुराको केही अर्थ नहुने भन्दै उनले यसअघि इजरालयमै हमासको आक्रमणमा नेपालीको मृत्यु भएको प्रसंग स्मरण गरे । ‘क्षति भएपछि खोजी गर्ने कुराको केही अर्थ हुँदैन सभामुख महोदय ।
यसअघि पनि इजरायलमा मारिएका विद्यार्थीहरूको पीडाको घाउ आलै छ । अहिलेसम्म उद्धार हुन नसकेका बिपिन जोशीको उद्धारका लागि सरकारले अझै पहल गरोस् । बिपिनहरूको नियति अन्य कुनै पनि नेपालीले भोग्नु नपरोस् ।
उनले युक्रेन–रुस युद्धमा ७३ नेपाली मारिइसकेको, तीन सय बेपत्ता रहेको बताए । यद्यपि रुसी सेनामा भर्ती भएका, मारिएका र बेपत्ता भएकाको यकिन तथ्यांक सरकारसँग पनि नभएको उनको भनाइ छ ।
पछिल्लोपटक मृत्युको पुष्टि भएका नेपाली आफ्नै गृह जिल्ला सल्यानका ताराप्रकाश घर्ती रहेको भन्दै सांसद ज्वालाले सल्यानका सन्तोष विष्टलगायत अहिलेसम्म बेपत्ता रहेको बताए । उनले अवैध रूपमा रुसी सेनामा पठाइएका नेपालीलाई कूटनीतिक माध्यमबाट फिर्ता ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, १४ : ४१
लेखकबाट थप