कम्युनिस्टहरू कुरा धेरै लेनिनका काम स्टालिनका गर्छन् : सुदन किराती

सफल खबर संवाददाता

शुक्रबार, ३० जेठ २०८२, १३ : ४२
कम्युनिस्टहरू कुरा धेरै लेनिनका काम स्टालिनका गर्छन् : सुदन किराती

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले नेपालका कम्युनिस्टहरू कुरा लेनिनको गर्ने तर काम स्टालिनको गर्ने गरेको बताएका छन् । आदिवासी जनजातिले शुक्रबार काठमाडौँमा गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । राजनीतिक दर्शन, विचारदेखि हरेक संस्कृति आयातित भएकाले हरेक दुःख र विपत्ति आएको किरातीले जिकिर गरे ।

‘कम्युनिस्टहरूकै कुरा गरौँ । रसियातिरबाट सवार हुन्छ । धेरै लेनिनका कुरा गर्छौ तर काम स्टालिनका गर्छौँ । हामी कम्युनिस्ट त्यस्तो छौँ’, उनले भने, ‘अर्को लोकतान्त्रिक भनेर आएको छ । त्यसमा मौलिकता छैन । अलिकति वीपीले अभ्यास गर्नुभएको थियो । उहाँको जीवनपछि बन्ध्याकरण भयो ।

आदिवासी जनजातिको मूल्यको आधारमा विश्व नीति तय गरेको भए आज यति भयावह ढङ्गले जलवायु परिवर्तन नआउने किरातीको तर्क छ ।

‘राजनीतिक दर्शनदेखि विचारहरू आयातित छन् नेपालमा । केही पनि मौलिक छैन । मौलिक दर्शन र विकासका नीति हामीले बनाउन सकेका छैनौँ । दुःखको स्रोत पनि त्यही हो जस्तो लाग्छ’, उनले भने ।

नेपालको संस्कृतिको मार्गदर्शन भनेकै गीता भएकाले जसले जे जे भने पनि गीताबाट साभार लिने गरेको किरातीले बताए । गीताले सामूहिक ज्ञानमाथि नभई एक जना मान्छेको ज्ञानमा ब्रह्माण्ड चल्ने विश्वास गर्ने गरेको उनको जिकिर छ । साथै किरातीले परम्परागत विचारलाई नै विस्थापन गर्नेगरी आदिवासी जनजातिले आवाज उठ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस