फिल्डरले फालेको एउटै बलले दुवैतर्फको स्टम्प ढलेपछि...

सफल खबर संवाददाता

सोमबार, २६ जेठ २०८२, ११ : ०६
फिल्डरले फालेको एउटै बलले दुवैतर्फको स्टम्प ढलेपछि...

काठमाडौँ । विश्व क्रिकेटमा समय–समयमा गजबको घटना हुने गरेको छ । सायद, त्यसैले क्रिकेटलाई अनिश्चितताको खेल भनिएको होला । यस्तै एउटा घटना भारतमा जारी महाराष्ट्र प्रिमियर लिग क्रिकेटका क्रममा भएको छ । 

के क्रिकेटमा तपाइँले फिल्डरले फालेको एउटै बलले दुबैतर्फको स्टम्प ढलेको देख्नुभएको छ ? सायद, छैन होला । विश्वाश गर्नै कठिन हुने यो घटना 'महाराष्ट्र प्रिमियर लिग–२०२५' को रायगढ रोयल्स र पुनेरी बप्पाबिचको खेलमा भएको हो ।

उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ । दुई सय तीन रनको लक्ष्य पछ्याउँदै रायगढ रोयल्स जवाफी ब्याटिङमा ओर्लिएको थियो । टोलीका प्रभावशाली ब्याट्सम्यान हर्ष मोगावीरा क्रिजमा थिए । 

तर, त्यतिबेला उनी नन–स्ट्राइकिङ ब्याट्सम्यानका रुपमा थिए । विपक्षी टोलीका बलर सिद्धेश वीरले फालेको बललाई स्ट्राइकिङ ब्याट्सम्यानले लेग साइडमा खेल्ने प्रयास गरे । त्यसपछि उनी रन लिन दौडिए । अर्कोतिर रहेका नन–स्ट्राइकिङ ब्याट्सम्यान हर्ष पनि रन लिन दौडिए । 

तर, बल नजिकै रहेकाले दुबै ब्याट्सम्यानले रन नलिने निर्णय गरे । त्यतिबेलासम्म बल विपक्षी टोलीका विकेटकिपरको हातमा पुगिसकेको थियो । विकेटकिपरले ब्याट्सम्यानलाई रन आउट गर्न बल तिब्रगतिमा विकेटतर्फ फाले ।  त्यो बलले पहिले स्ट्राइकिङ ब्याट्सम्यान भएतर्फको विकेट ढाल्यो । तर, ब्याट्सम्यानल पहिले नै क्रिजभित्र पुगिसकेकाले आउट भएनन् । त्यसपछि त्यहीले तिब्रगतिमा हुइकँदै गएर अर्कोतर्फको स्टम्पमा लाग्यो र एउटा स्टम्प ढल्न पुग्यो ।

दूर्भाग्यवश अर्कोतर्फ रहेका रहेका ब्याट्सम्यान आफ्नो स्थानमा पुग्न भ्याएकै थिएनन् । त्यसैले उनी रन आउट हुन पुगे । यसरी अविश्वसनीय तरिकाले रन आउट भएर हर्ष पेभेलियन फर्किनु पर्यो । विश्व क्रिकेटमा यस्तो घटना निकै कम देख्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस