चितवन। भरतपुर मेयर कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण सोमबारदेखि हुने भएको छ । पालिकाभित्रका ७५ वटा विद्यालयको सहभागिता रहने प्रतियोगिता चार वटा खेल मैदानमा हुनेछ ।
चितवन जिल्ला फुटबल संघको आयोजना र भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता गर्न लागिएको हो । महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहने प्रतियोगिता दुई चरणमा गरिने संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।
आगामी असार ४ गतेसम्म छनोट चरणका खेल हुनेछन् । ढकालका अनुसार पहिलो चरणबाट २४ वटा विद्यालय छनोट भएर दोस्रो चरणमा पुग्नेछन् । १७ वर्ष मुनिका खेलाडीको सहभागिता रहने प्रतियोगिता ८० मिनेट खेलाइनेछ ।
भरतपुर महानगरपालिका–७ मा रहेको कृष्णपुर खेलमैदान, वडा नं १२ मा रहेको रामबेल खेलमैदान, वडा नं १४ को सुन्दर बस्ती खेलमैदान र वडा नं ५ मा रहेको स्मल हेभेन बोर्डिङको खेल मैदानमा पहिलो चरणका खेल हुनेछन् ।
भरतपुर मेयर कप फुटबल लिगमा महानगरका एक हजार ४०० भन्दा बढी युवा खेलाडीको सहभागिता रहनेछ । असार १४ गतेसम्म हुने प्रतियोगिता सम्पन्न गर्न १२ लाख खर्च हुने अनुमान संघले गरेको छ । प्रतियोगिताको औपचारिक उद्घाटन असार ४ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ जेठ २०८२, १३ : २९
लेखकबाट थप