काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टले उच्च अदालत पाटनमा दायर गरेको रिट हेर्न नमिल्ने भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय डालकुमार खड्का र सूर्यप्रसाद पराजुलीको इजलासमा विष्टको निवेदनमाथि पेसी तोकिएकोमा हेर्न नमिल्ने भएको हो ।
विष्टले बिहीबार जिल्ला अदालत काठमाडौँले माग गरेको एक लाख धरौटी खारेज गर्न तथा आफूलाई थुनामा पठाउन नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले दिएको निवेदन पनि बदर गर्न मागसहित उच्चमा निवेदन दिएका थिए ।
नाउपाका संरक्षक चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि विष्ट पक्राउ परेका थिए । उनलाई गत जेठ ५ गते जिल्लाले एक लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश गरेको थियो ।
विष्टले गत वैशाख १७ गते नाउपाका संरक्षक चौधरीलाई पक्राउ गर्न प्रहरी र डिल्लीबजार कारागारमा पत्राचार गरेका थिए । उक्त अनधिकृत पत्रका कारण चौधरी ५ घण्टा कारागारमा बस्नुपरेको थियो । पछि सर्वोच्चले पत्र सच्याएर पठाएपछि चौधरी छुटेका थिए ।
सोही दिन प्रहरीले विष्टलाई पक्राउ गरी लिखत किर्ते कसुरमा अनुसन्धान सुरु गरेको थियो । जिल्लाले धरौटीमा छाडेपछि नाउपाका संरक्षक चौधरीले विष्टलाई थुनामा पठाउन माग गर्दै गत जेठ १९ गते उच्चमा निवेदन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ जेठ २०८२, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनधिकृत पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंहलाई म्याद थप गर्न लगिंदै