काठमाडौं। दक्षिण कोरियाको लागि डी–२ र डी–४ भिसाको अध्ययन अनुमति पत्र (एनओसी) स्थगित भएपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । शुक्रबार सानोठिमीस्थित एनओसी शाखामा पुगेर विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।
‘हाम्रो बाटो नछेक। एनओसी हाम्रो अधिकार हो । शिक्षा हाम्रो अधिकार हो,’ विद्यार्थीहरूले नारा लगाउँदै एनओसी खोल्न माग गरेका छन् ।
गत २८ वैशाखमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियाको लागि डी–२ र डी–४ भिसाको लागि अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने निर्णय गरेको थियो । यसको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
सरकारको निर्णयको विरुद्ध केही विद्यार्थी सर्वोच्च अदालत गएका थिए । तर अदालतले निवेदकको हकमा मात्र एनओसी दिनु भनेकाले ८ जनालाई दिइएको अरुको हकमा स्थगित यथावत रहेको एनओसी शाखाले जनाएको छ ।
‘विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन्। हामीले केही गर्न सक्ने स्थिति छैन। अदालतले निवेदकको हकमा भनेको मात्र दिन भनेको हो,’ शाखा प्रमुख उत्तम आचार्यले भने ।विद्यार्थीहरू कोरियामा डी–२ र डी–४ भिसामा अन्डर ग्र्याजुयट अध्ययन गर्न जाने गरेका छन् ।
यो भिसामा गएका विद्यार्थीहरू कोरिया सरकारले नै कालोसूचीमा राखेको विश्वविद्यालयमा आवेदन दिने गरेको पाइपछि एनओसी स्थगित गरेको हो । मन्त्रालयले अध्ययन अनुसन्धान गर्न उच्च शिक्षा महाशाखा बैकुण्ठ अर्यालको संयोजकत्वमा छानबिनसमिति बनाइएको छ।
समितिले छानबिन गरेर प्रतिवेदन तयार पारेपछि मात्र एनओसी खोल्ने वा के गर्ने निर्णय हुने मन्त्रालयले जनाएको छ । विद्यार्थी र कन्सल्टेन्सीहरूले भने एनओसी खोल्न दबाब दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ जेठ २०८२, १४ : १४
लेखकबाट थप