वाईसिएल महाधिवेशन : १५५२ प्रतिनिधि टुंगो, मतदानबाट नेतृत्व चुन्ने तयारी

सफल खबर संवाददाता

विहीबार, २२ जेठ २०८२, १० : २८
वाईसिएल महाधिवेशन : १५५२ प्रतिनिधि टुंगो, मतदानबाट नेतृत्व चुन्ने तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को नयाँ नेतृत्व चुनावबाटै चुन्ने तयारी शुरु भएको छ । महाधिवेशनमा कुल १५५२ जना मतदाता रहेको प्रतिनिधिहरुको नाम सार्वजनिक गरिएको छ ।

निर्वाचन समितिले महाधिवेशनका १५५२ जनाको नाम प्रतिनिधिको रुपमा सार्वजनिक गरेको हो । महाधिवेशन प्रतिनिधि कति छन् भन्ने टुंगो नभईरहेका बेला अन्तिम समयमा निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक गरेको हो ।

सहमतिबाट नेतृत्व चयन गर्न सकस भएपछि अध्यक्ष प्रचण्डले सकभर सहमति नभए प्रक्रियाबाट भएपनि नेतृत्व चयन गर्न निर्देशन दिएपछि निर्वाचन समितिले आफनो प्रक्रिया अगाडी बढाएको छ । त्यही क्रममा मतदाता नामावली निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत डा. जगतकृष्ण पोखरेलले सार्वजनिक गरेका हुन् ।

वाइसिएलमा अध्यक्षका लागि १३ जना आकांक्षी छन् । हालका उपाध्यक्ष केहरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, सचिवहरू नवराज ऐर, गणेश शाही, कर्म पुलामी, माधव बस्नेत, प्रेम श्रेष्ठ, ठाकुर सौराग लगायत ले अध्यक्षमा दावी गरिरहेका छन् । तर त्यसमध्येमा पनि ओली, ऐर, शाही र पुलामीको नाम बढी चर्चामा छ । चुनाव हुँदा यसबाट पनि केही नाम छाटिने सम्भाबना रहेको नेताहरुको भनाई छ ।

उपाध्यक्षका लागि १० जना बढीले दाबी गरेका छन् । उपाध्यक्षमा अखिल शाही, नवीन खड्का, मनिषा चदारा, रीतमान पुन, सुनील सुनार, मोहित विक, अनु कुँवर, शर्मिला तामाङ, अर्जुन साउद, अविलास लामा लगायत इच्छा राखेका छन् । अनन्त प्रकाश श्रेष्ठ, शिला नेपाल, साजन अधिकारी लगायतले उपमहासचिव पदको दाबी गरेका छन् ।

महासचिव पदमा विपिन आचार्य, हरि ढकाल, सन्तोष पनेरु, शिव बोगटी, धनकुमार मैनाली, कुमार आचार्य, शंकर पौडेल र शोभाराम भण्डारी गरी ८ जनाले दाबी गरेका छन् । राजीव गिरीले कोषाध्यक्ष पदको आकांक्षा राखेका छन् ।

वाइसिएलको विधानमा अध्यक्ष १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव ८, सचिव १७ कोषाध्यक्ष १ गरी ३५  जनाको पदाधिकारी हुने व्यवस्था छ ।

अब निर्वाचन प्रक्रिया अगाडी बढेमा आजै साँझसम्म मतदान गराएर नेतृत्व टुंगो लगाउने तयारी छ ।
जेठ १८ देखि २० सम्मको लागि तय भएको तेस्रो सम्मेलनको अवधि लम्बिएपछि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हल बिहीबार (आज) सम्म बुक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस