एजेन्सी । इन्डियन प्रिमियर लिगमा पञ्जाब किंग्सले क्वालिफायरमा स्थान पक्का गरेको छ। सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सलाई ७ विकेटले हराउँदै पञ्जाबले क्वालिफायरमा स्थान पक्का गर्यो।
अब अर्को क्वालिफायर खेल्ने टिमको तय आज हुने रोयल च्यालेन्जर्स बैंगलोर र लखनउ सुपर जायन्ट्स बिचको खेलपछि तय हुने छ। आजको खेल जितेमा बैंगलोरले क्वालिफायर खेल्ने छ। अन्यथा उसले इलिमिनेटरमा मुम्बइको सामना गर्नु पर्ने छ।
क्वालिफायरमा पुग्ने दुई टिमबिचको विजेताले फाइनलमा स्थान बनाउँदा पराजित टिमले इलिमिनेटर खेल्ने दुई टिमबिचको विजेतासँग दोस्रो पटक फाइनल पुग्ने अवसर प्राप्त गर्ने छ। अहिले अङ्क तालिकामा पञ्जाब शीर्ष स्थानमा रहँदा गुजरात दोस्रो स्थानमा छ। त्यस्तै बैंगलोर तेस्रो र मुम्बइ चौंथो स्थानमा रहेको छ।
सोमबार क्वालिफायर पुग्नका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब रहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य पञ्जाबले ९ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गर्यो।
पञ्जाबको जितमा प्रियन्स अर्या र जोश इंग्लिसले सानदार इनिङ खेलेका थिए। अर्याले ३५ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६२ रन बनाउँदा इंग्लिसले ४२ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ७३ रनको इनिङ खेले। त्यस्तै कप्तान श्रेयस अय्यर २६ रनमा अविजित रहँदा ओपनर प्रभसिम्रन सिंह १३ रनमा आउट भएका थिए।
त्यसअघि मुम्बइले सूर्यकुमार यादवको ५७ रनको अर्धशतकीय इनिऽमा १ सय ८४ रन बनाएको थियो। यादवले ३९ बलमा ५७ रन बनाउँदा र्यान रिकेलटनले २७ तथा रोहित शर्माले २४ रन बनाए। त्यस्तै कप्तान हार्दीक पाण्डेले २६ रन बनाउँदा नमन धिरले २० रन बनाएका थिए। विल ज्याक १७ रन बनाएर आउट भए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ जेठ २०८२, १० : ३३
लेखकबाट थप