चितवन । पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिर जान केबलकार बनेसँगै भक्तजनहरुसमेत बढेका छन् ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटाले मन्दिर आउने भक्तजनको संख्या केबलकार बनेपछि करिब ३० प्रतिशतले बढेको बताए । मन्दिर जान पैदल मार्ग तथा सडकमार्ग भए पनि झण्डै २ लाखभन्दा बढी भक्तजन केबलकारबाट मन्दिर आउने गरेको अध्यक्ष सापकोटाको भनाइ छ ।
एकातिर कालीगण्डकी करिडोरबाट चिसापानी हुँदै सडक मार्गबाट मन्दिर जान सकिन्छ भने अर्कोतिर गणेश मन्दिर चुहार खोला हुँदै सडक मार्गबाट नै मन्दिर जान पनि सकिन्छ । गैंडाकोटको फेदीबाट पेटीको पैदलमार्ग भएर पनि कतिपय भक्तजनहरू मन्दिर जाने गरेको अध्यक्ष सापकोटाले बताए ।
उनका अनुसार मन्दिरको दर्शन गर्न वार्षिक ५ लाखभन्दा बढी भक्तजन आउने गर्दछन् । अन्य दिनमा भन्दा शनिबारको दिनमा भक्तजन बढी आउने गरेको अध्यक्ष सापकोटाले जानकारी दिए । नयाँ वर्ष, बडा दशैं, चैते दशैं जस्ता पर्वमा मन्दिरमा भक्तजनको भिड बढी हुने गरेको छ ।
मन्दिर र नगरपालिकाको आम्दानी बढ्यो
केबलकार बनेपछि भक्तजनको संख्या अन्य दिनहरुमा पनि बढेको र मन्दिरको आम्दानीसमेत बढेको अध्यक्ष सापकोटाले बताए । केबलकार प्रयोगकर्ताको प्रतिटिकट ३ रुपैयाँ मन्दिरले पाउने गरेको छ । केबलकारबाट समेत मन्दिरको कूल आम्दानी वार्षिक १ करोड ९२ लाख रहेको अध्यक्ष सापकोटाले जानकारी दिए ।
केबलकारले मन्दिरको मात्र नभई स्थानीय गैंडाकोट नगरपालिकाको समेत राजश्व बढेको छ । केबलकारले २०८० सालमा २१ लाख ९० हजार र २०८१ सालमा २० लाख ११ हजार राजश्व बुझाएको नगरपालिकाको तथ्यांक छ ।
केबलकारको टिकट नेपालीलाई ६७५, सार्क देशकालाई १ हजार नेपाली रुपैयाँ र तेस्रो देशका विदेशीलाई १५ डलर लिने गरिएको छ । ७ वर्षभन्दा तल र ८० वर्ष माथिका वृद्धवृद्धालाई टिकट निःशुल्क गरिएको छ ।
टिकटमा विद्यार्थीलाई २५ प्रतिशत र स्थानीयलाई ४० प्रतिशत, ७० देखि ७९ बर्षका भक्तजनलाई २५ प्रतिशत छुट दिने गरिएको छ ।
२४ देशका नागरिक पनि पुगे मौलाकालिका
मौलाकाली केबलकारका स्टेशन इन्चार्ज सुरज पौडेलले केबलकार बनेपछि मौलाकालिका मन्दिरको समेत थप प्रचारप्रसार भएको बताए । उनका अनुसार ६५ जिल्लाका भक्तजनहरू मन्दिरमा दर्शनका लागि पुगेका छन् । विभिन्न २४ देशका नागरिक पनि केबलकार हुँदै मन्दिर पुगेको देखिएको मौलाकाली केबलकारका स्टेशन इन्चार्ज पौडेलले बताए ।
हिँडेर जान नसक्ने अशक्त, अपाङ्ग र वृद्धवृद्धाहरू केबलकारबाट मन्दिरको दर्शन गर्न जान सक्ने भएका छन् । १ सय वर्षभन्दा माथिका वृद्धवृद्धाहरू पनि केबलकार चढेर मन्दिर पुगेको स्टेशन इन्चार्ज पौडेलले बताए ।
केबलकार बनेपछि मन्दिरको दर्शनका अलावा घुमघाम र रमाइलो गर्नका लागि पनि साथी–साथी मिलेर जाने गरेको पाइएको उनले बताए । २०८० वैशाख १८ गतेबाट औपचारिक रुपमा सुरु भएको केबलकारमा सो वर्ष २ लाख ७० हजार र २०८१ मा २ लाख ३५ हजारले केबलकारको यात्रा गरेको तथ्यांक छ ।
पहिले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चल्ने केबलकार आइएमई ग्रुपले मौलाकालिका मन्दिरको केही तल केबलकारको टप स्टेशनमा होटल इला सञ्चालन गरेपछि राति १० बजेसम्म चलाउन थालिएको छ । सो होटलको गत वैशाख २९ गते उद्घाटन गरिएको थियो ।
करिब १,२०० मिटर लम्बाइको केबलकारमा १४ वटा गोण्डोला रहेका छन् । फेदिबाट केबलकार चढेपछि ५ मिनेटमा मन्दिर नजिकै रहेको टप स्टेशनसम्म पुग्न सकिन्छ ।
केबलकार सञ्चालनमा आएपछि ४५ जनाले रोजगारी पनि पाएको स्टेशन इन्चार्ज पौडेलले बताए ।
मन्दिरमा गुरुकुल सञ्चालन
मौलाकालिका मन्दिर परिसरमा नै व्यवस्थापन समितिले मौलाकालिका संस्कृत विद्यापिठ (गुरुकुल) सञ्चालन गर्दै आएको छ । विगत ४ वर्षदेखि सञ्चालनमा आएको गुरुकुलमा ५५ जना विद्यार्थीहरू छन् ।
कक्षा ६ देखि १० सम्म पढाइ हुने गुरुकुलमा मासिक १२ लाख रुपैयाँ खर्च हुने अध्यक्ष सापकोटाले बताए । तर सरकारले सरकारले वार्षिक ५ लाख रुपैयाँ मात्र दिने गरेको छ । बाँकी अपुग रकम मन्दिरकै आम्दानीबाट व्यहोरिएको छ । गुरुकुलमा शिक्षकसहित तलब खाने २४ जना छन् ।
गुरुकुलमा टाढाटाढाबाट आउने र बास बस्न चाहने व्यक्तिहरुका लागि आवासको सुविधा पनि छ ।
मन्दिरमा एक रातमा ८० जनासम्म बस्न सक्ने सुविधा रहेको अध्यक्ष सापकोटाले बताए । एक छाकमा दैनिक ८५ देखि १ सय जनासम्मले खाना खाने गर्दछन् । शनिवारको दिनमा ३ सय जतिले खाना खान्छन् । पैसा नहुनेलाई निःशुल्क खाना दिने गरिन्छ । पैसा हुनेले आफूखुसी तिरेर जाने गर्दछन् । बस्ने आउनेमध्ये २५ प्रतिशतले निःशुल्क भोजन गर्ने र ७५ प्रतिशतले रकम सहयोग गर्ने गरेको अध्यक्ष सापकोटाले बताए ।
गुरुकुलका विद्यार्थी र रात बस्न आउनेहरुलाई दूध खुवाउन १० वटा गाई पालिएको छ ।
मन्दिरलाई नयाँ स्वरुप दिने तयारी
मौलाकालिका मन्दिरको इतिहास साढे चार सय वर्ष पुरानो छ । मौलाकालिका मन्दिर ४५० वर्ष पहिले सेन राज्यको पालामा निर्माण भएको विश्वास गरिन्छ । सोह्रौँ शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनले देवी कालिकाको नाममा प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि पर्वत (मौला पहाड) को नाम राखिएको किंवदन्ती छ ।
मन्दिरको अहिलेको स्वरुप केही फेर्ने मन्दिर व्यवस्थापन समितिको तयारी छ । मन्दिरमा अहिले भएको सिमेन्ट संरचना नदेखिने गरी परम्परागत शैलीको देखिने बनाइने अध्यक्ष सापकोटाले बताए । मन्दिरमा तामाको छानो हाल्ने र टुडाँलहरु फेर्ने काम पनि गरिने छ ।
मन्दिरको फेँदीमा १ करोडको लागतमा धर्मशाला बनाउने, १ करोडको लागतमा ढुंगा विछ्याउने तथा १ करोडको लागतमा परिक्रमा मार्गसम्म जाने पहुँच मार्गमा ढुंगा लगाउने काम भैरहेको छ ।
केबलकारको टपस्टेसनबाट मन्दिरसम्म पोडवे वा मोनोरेल चलाउने योजना
मन्दिर व्यवस्थापन समितिले आगामी आर्थिक वर्ष सांस्कृतिक तथा पुरातात्विक संग्रहाललय बनाउने योजना समेत बनाएको छ ।
कतिपय भक्तजनहरु केबलकारको टप स्टेशनबाट मन्दिरसम्म जान पनि नसक्ने अवस्थालाई मध्यनजर गरेर ३ सय मिटर लामो पोडवे वा मोनोरेल जस्तो केही संरचना तयार गर्ने बारेमा पनि छलफल अगाडि बढेको अध्यक्ष सापकोटाले जानकारी दिए ।
समुद्र सतहदेखि ५६१ मिटर उचाइमा रहेको यस मन्दिरबाट पवित्र देवघाटधामका साथै सुन्दर हिमालका दृश्यहरु देखिन्छ । दक्षिणमा चितवन उपत्यका आकर्षक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०९ जेठ २०८२, ११ : ३८
लेखकबाट थप