फुलबारी युथ र भरतपुर ६ सेमिफाइनल प्रवेश

सफल खबर संवाददाता

सोमबार, ०५ जेठ २०८२, १० : ५१
फुलबारी युथ र भरतपुर ६ सेमिफाइनल प्रवेश

भरतपुर । फुलबारी युथ क्लब र खेलकुद बिकास समिति भरतपुर ६ प्रथम फुलबारी राइनो एट ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । पहिलो क्वाटरफाइनलमा पटिहानी इभेन्ट्सलाई हराउँदै फुलबारी युथ क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा फुलबारीले पटिहनीलाई १-० ले हराएको हो ।

यस्तै दोस्रो क्वाटरफाइनलमा खेलकुद बिकास समिति भरतपुर ६ ले आयोजक फुलबारी राइनो युथ एसोसिएसन सेतोलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्‍यो । त्यसअघि निर्धारित समयमा दुबै तर्फबाट १-१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको हो । जसमा विजयी हुँदै खेलकुद बिकास समिति भरतपुर ६ सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगितामा आज थप दुई क्वाटरफाइनल खेल हुनेछन् । आजको पहिलो खेलमा काभ्रेघाट एफसी र युवा जागरण केन्द्र भिड्नेछन् । यो खेल दिउँसो ४ बजे हुनेछ । यस्तै आजै ५ बजे हुने दोस्रो खेलमा फुलबारी राइनो युथ एसोसिएसन निलो र पार्वतीपुर खुकुरी गाइज भिड्नेछन् ।

श्रीपुर खेल मैदान भरतपुर १५ मा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ४० हजार रुपैँया प्राप्त गर्नेछ । यस्तै उपविजेताले २० हजार रुपैँया प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।  

प्रतिक्रिया दिनुहोस