हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमासमेत रहिआएका छन् : वनमन्त्री शाही

सफल खबर संवाददाता

शुक्रबार, ०२ जेठ २०८२, १३ : ५६
हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमासमेत रहिआएका छन् : वनमन्त्री शाही

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरू केवल भव्य मात्र नभई अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका बताएका छन् । 

सगरमाथा संवादको उद्घाटन समारोहपछि भएको पूर्ण सत्रमा आज उनले नेपालका तर्फबाट वक्तव्य दिँदै हाल नेपाललगायत हिमाली क्षेत्र द्रुतगतिमा बढ्दो जलवायु संकटको अग्रपङ्क्तिमा रहेका उल्लेख गरे । 

उनले भने, “हाम्रो आँखै अगाडि हिमाली परिदृश्य रूपान्तरण हुँदैछ । हिमनदीहरू घट्दैछन् । परिस्थितिकीय प्रणाली बदलिँदै छ । परम्परागत जीवनशैलीहरू उल्टिँदै छन् । यो स्थानीय नभई विश्वव्यापी संकट हो ।”

विश्वका १४ मध्ये आठवटा अग्ला हिमालहरू भएको भूमि नेपालले यी प्राकृतिक धरोहरहरूको संरक्षण गर्ने पवित्र जिम्मेवारी बहन गर्दै आएको बताउँदै मन्त्री शाहीले मानव जातिको पाँच भागको एक भागलाई ताजा पानी, जैविक विविधता र आध्यात्मिक जीवन शक्ति प्रदान गर्दै आएको ‘तेस्रो ध्रुव’ का रूपमा परिचित क्षेत्रको महत्त्वपूर्ण हिस्साका रूपमा हाम्रा हिमालहरू रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस