अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी, दुई जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०१ जेठ २०८२, ११ : २६
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी, दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा स्याङ्जा पुतली बजार नगरपालिका  घर भएका हाल ललितपुर महालक्ष्मी नगरपालिका बस्ने शारदा थापा र सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका  घर भएका हाल काठमाडौँ तारकेश्वर बस्ने  भएका ४१ वर्षीय पासाङ नुरू शेर्पा रहेका छन् । 

पक्राउ मध्ये शारदाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८५ लाख रुपैयाँ र पासाङले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शारदालाई ललितपुरबाट बुधबार र पासाङलाई काठमाडौँ तारकेश्वरबाट मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।