काठमाडौँ । काठमाडौँ घोषणापत्र जारी गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशन आइतबार सम्पन्न भएको छ । महाधिवेशनले महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैर आवासीय नेपालीबाट मुलुकले धेरै ठूलो आशा गरेको बताए । उनले आफ्नो नेतृत्वको पूर्ववर्ती सरकारले एनआरएन नागरिकता प्रदान गर्न सुरु गरेको भए पनि हालसम्म त्यसको पूर्ण कार्यान्वयन हुन नसक्दा दुःख लागेको उल्लेख गरे । गैर आवासीय नेपालीलाई प्रदान गरिने नागरिकता कार्यान्वयनको सवालमा आफ्नो दलले पूर्ण सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले एनआरएनसँग रहेको ज्ञान र सीप मुलुकको उन्नतिमा प्रयोग गर्न सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिए । एनआरएनका मुद्दालाई सम्बोधन गर्न आफ्नो दल सधैँ सकारात्मक रहेको उल्लेख गर्दै उनले लगानी विस्तार, सीप र क्षमताको अधिकतम प्रयोग गरेर मुलुकलाई अगाडि बढाउन आग्रह गरे ।
एनआरएनएका पूर्वअध्यक्षद्वय देवमान हिराचन र भवन भट्ट, एनआरएन अभियन्ता, आरके शर्मा, डा. केशव पौडेललगायतलले नवनिर्वाचित कार्यसमितिलाई सफलताको शुभकामना दिएका थिए । सो अवसरमा नव निर्वाचित अध्यक्ष श्रेष्ठले सबै पक्षलाई सहमतिमा आउन आग्रह गरे ।
महाधिवेशनले गैरआवासीय नेपालीले गैर आवासीय नेपाली नागरिकतासम्बन्धी संविधानले व्यवस्था गरेका सम्पूर्ण अधिकार उपभोग गर्न पाउने गरी शीघ्र विद्यमान ऐन कानुनमा संशोधन गर्न सरकारलाई अनुरोध गरेको छ । विदेशमा बस्ने नेपालीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गर्नसमेत आग्रह गरेको छ ।
त्यसै गरी मध्यपूर्वलगायतका मुलुकमा कार्यरत नेपाली श्रमिकका समस्या र त्यहाँ अज्ञानतावश जेलमा रहेका नेपालीलाई स्वदेश फर्काउन तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महाधिवेशनको उद्घाटन परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गत शनिबार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २२ बैशाख २०८२, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की