प्रभावकारी रहे चितवनमा प्रचण्डका पाँच दिन

मंगलबार, २१ कार्तिक २०७४, १७ : ४०
प्रभावकारी रहे चितवनमा प्रचण्डका पाँच दिन


चितवन । पूर्वप्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रचण्डले चितवनमा बिताएका पाँच दिन प्रभावकारी देखिएका छन् । निर्वाचनमा उम्मेदवारी दर्ताको दिन कात्तिक १६ गते बिहीबार बिहान चितवन आइपुगेका प्रचण्ड निर्वाचनको काम, प्रचारप्रसार, जनतालाई सम्बोधन र भेटघाटका काममा व्यस्त बने । निकै व्यस्त दैनिकी सकेर अध्यक्ष प्रचण्ड कात्तिक २० गते सोमबार काठमाडौँ फर्किएका थिए ।


पहिलो दिन
कात्तिक १६ गते बिहीबार चितवन आएका प्रचण्डले भरतपुरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर दिउँसो साढे एक बजेतिर क्षेत्र नम्बर तीनबाट आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरेर फर्कने क्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले आफ्नो उम्मेदवारीले जनतामा उत्साह जागेको प्रतिक्रिया दिएका थिए । उम्मेदवारी दर्तापछि उनले भरतपुरको गेष्टहाउसचौरमा आयोजित बृहद चुनावी सभालाई सम्बोधन गर्दै वाम गठबन्धनको जितले मुलुकको मुहार फेरिने बताएका थिए ।


दोस्रो दिन
शुक्रबार बिहानैदेखि आफ्नो पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकसँग भेटघाटमा व्यस्त रहेका प्रचण्डले वाम गठबन्धनका पदाधिकारीसँग पनि भेटघाट गरे । उनले शुक्रबार साँझ नै कृष्णपुरमा प्रेस चौतारी र प्रेस सेन्टरका पत्रकारहरुलाई सामूहिक रुपमा भेटघाट र आवश्यक निर्देशन दिए । निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक प्रचारप्रसार रणनीति तयार गरेर काम गर्न प्रचण्डले निर्देशन दिएका थिए ।


तेस्रो दिन

शनिबार प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र शिवनगर, जगतपुर र माडीमा जनतासँग भेटघाट, सम्बोधन र चुनावी कार्यालय उद्घाटन लगायतका काम सम्पन्न गरे । शिवनगरमा पुराना दौँतरी भेटेर भावुक भएका प्रचण्डले जगतपुरमा निर्वाचन कार्यालयको उद्घाटन गरे । लगत्तै माडीको वसन्तपुरमा आयोजित दिवाकर तीर्थकुमारी भुसाल स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता उद्घाटन गरेका प्रचण्डले चोकचोकमा उभिएर स्वागत गर्न बसेका माडीवासीको हातबाट पुष्पगुच्छा लिँदै उनीहरुका सुखदुखका कुरा सुने । राप्रपा प्रजातान्त्रिक चितवनका अध्यक्ष बद्री तिमिल्सिनालाई अबिरको टिका र माला लगाएर पार्टी प्रवेश गराए ।


चौथो दिन
अघिल्लो दिन माडीबाट चुनावी प्रचारप्रसार सुरु गरेका प्रचण्डले आइतबार आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने चनौली, गीतानगर, देवनगरमा निर्वाचन कार्यालय उद्घाटन, विजयी अभियानको सुरुवात र कोणसभालाई सम्बोधन गरे । चुनावी कोणसभामा अघिल्लो दिन पार्टी प्रवेश गरेका बद्री तिमिल्सिना र नेकपा एमालेका नेता देवी ज्ञवालीले प्रचण्डलाई साथ दिएका थिए । प्रचण्डका हरेक चुनावी सभाहरुमा तिमिल्सिना र ज्ञवाली दिनभर साथमै रहे ।


पाँचौं दिन
चितवन बसाईको अन्तिम दिन सोमबार प्रचण्डले भरतपुरस्थित नेकपा माओवादी केन्द्र जिल्ला पार्टी कार्यालयको सभा हलमा वाम गठबन्धनका नेता तथा कार्यकर्तालाई सम्बोधन गरे । संयुक्त वाम गठबन्धनको जिल्लास्तरीय निर्वाचन परिचालन समितिको उक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुईतिहाई बहुमतका लागि वाम गठबन्धन भएको स्पष्ट पारे । उनले पार्टी एकता संयोजन समिति बनिसकेकोले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएरै छाड्ने बताए ।
समग्रमा चितवनमा पार्टी अध्यक्ष प्रचण्डले बिताएका पाँच दिन निकै नै उपलब्धिमूलक र प्रभावकारी रहेको पाइएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज इश्वरी भट्टराईको भनाइ छ । उनी भन्छन्, अध्यक्ष प्रचण्डले चितवनमा बिताएका पाँच दिनमा विपक्षीले फैलाएको भ्रम चिर्ने काम र जनतासँग नजिक हुने काम भएको छ । अब चितवनमा अध्यक्ष कमरेड प्रचण्डको जितलाई कुनै तागतले रोक्न सक्दैन ।

 

प्रतिक्रिया दिनुहोस