काँग्रेसी युवाको स्वतन्त्र उम्मेदवारीले ठेकेदार पाण्डे लाई अर्को झटका

मंगलबार, २१ कार्तिक २०७४, १५ : १५
काँग्रेसी युवाको स्वतन्त्र उम्मेदवारीले  ठेकेदार पाण्डे लाई अर्को झटका


चितवन । राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना लगायत जिल्ला कार्यसमितिका बहुमत सदस्य नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको एक साता नबित्दै क्षेत्र नम्बर तीनका राप्रपा प्रजातान्त्रिकका उम्मेदवार बिक्रम पाण्डेलाई मंगलबार अर्को झड्का लागेको छ । क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका नेपाली काँग्रेसका प्रवेश अधिकारीले क्षेत्र नम्बर तीनमा रुख सम्झेर आफ्नो चुनाव चिह्न कलममा मतदान गर्न आह्वान गरेपछि बिक्रम पाण्डेलाई अर्को झट्का लागेको हो ।


नेपाली काँग्रेसको समर्थन लिएर लोकतान्त्रिक मोर्चाबाट क्षेत्र नम्बर तीनका लागि उम्मेदवारी दिएका पाण्डेले सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निर्वाचन लड्ने आँट गरेका छन् । नेपाली काँग्रेसको बलमा चुनाव जित्ने सपना देखेका पाण्डेलाई एकपछि अर्को झट्का सहनु परेपछि उनी चुनावमा पराजय हुने निश्चित भइसकेको भन्दै क्षेत्र नम्बर तीनका मतदाताले खासखुस गर्न सुरु गरिसकेका छन् । पाण्डेको दाहिने हात मानिएका बद्री तिमिल्सिनाको माओवादी पार्टी प्रवेशको पहिलो झट्का लागेको एक साता नहुँदै पाण्डेलाई काँग्रेस परिवारका प्रवेश अधिकारीले अर्को झट्का दिएका हुन् ।


भरतपुरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी स्वतन्त्र उम्मेदवार प्रवेश अधिकारीले आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन् । काँग्रेसले आफ्ना कार्यकर्तालाई हिजो हँसिया हथौडामा भोट हाल्न भन्यो । आज हलोमा भोट हाल्न भनिरहेको छ । क्षेत्र नम्बर तीनका नेपाली काँग्रेसका कार्यकर्ताले रुखमा भोट कहिले हाल्ने ? क्षेत्र नम्बर तीनमा काँग्रेसको भविष्य के ?, पारिवारिक पृष्ठभूमि काँग्रेस रहेका अधिकारीले भने, म काँग्रेस नै हो । रुख सम्झेर मेरो चुनाव चिह्न कलममा भोट हाल्नुहोला ।

भोटका लागि म नेपाली काँग्रेस समर्थकसँग बढी आशावादी छु । तपाइँहरुले रुखमा भोट हाल्न नपाएपनि एउटा युवा काँग्रेसी म प्रवेश अधिकारीले स्वतन्त्ररुपमा उम्मेदवारी दिएको छु । मेरो चुनाव चिह्न कलममा भोट हालेर काँग्रेसको इज्जत जोगाउनु होला ।

 

प्रतिक्रिया दिनुहोस