कम्युनिष्ट गठबन्धनद्वारा चुनावी घोषणापत्र सार्वजनिक : के भने प्रचण्ड र ओलीले ?

मंगलबार, २१ कार्तिक २०७४, १५ : ०४
कम्युनिष्ट गठबन्धनद्वारा चुनावी घोषणापत्र सार्वजनिक  :  के भने प्रचण्ड र ओलीले ?

काठमाडौं । एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । गठबन्धनले मंगलबार काठमाडौमा दुवै पार्टीका शीर्ष नेताको उपस्थितिमा संयुक्त घोषणापत्र सार्वजनिक गरेको हो । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका थिए ।

सो अवसरमा बोल्दै  प्रचण्डले मुलुकको विकास र स्थायित्वलाई आधार बनाएर घोषणापत्र तयार गरिएको बताए ।
उनले घोषणापत्रमा विकास निर्माण, सामाजिक न्याय, उर्जा, लगायतका विषयलाई प्राथमिकतामा राखेको बताउँदै  समावेश गरिएका विषयहरुलाई ३ बर्ष, ५ बर्ष र १० बर्षमा पुरा गर्ने लक्ष्य राखेको जानकारी दिए ।

घोषणापत्रमा दैनिक ५ लाख पर्यटक भित्रयाउने, सूचना प्रविधिमा विदेशी लगानी निषेध गर्ने नीति अगाडी सारेको, सामाजिक सञ्जालालई जनमुखि बनाउने र विधिको शासन कायम गर्ने विषयलाई पनि उठाइएको  अध्यक्ष प्रचण्डले बताए ।

समाबेशी र सन्तुलित विकासको अवधारणा घोषणापत्रमा उल्लेख भएको तथा सामाजिक, सांस्कृतिक नीतिलाई समेत अघि सारिएको छ । यस्तै  पुर्ननिर्माण र पुनस्थापनाका विषयमा पनि बाम गठबन्धनको घोषणापत्रमा उल्लेख गरिएको तथा भुकम्प पीडितलाई ३ लाख अनुदान र तीन लाख निव्र्याजी ऋण दिने नीति अघि सारेको छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले घोषणापत्र एमाले र माओवादीको साझा अवधारणा भएको भन्दै घोषणापत्र कार्यन्वयन गरेरै छाड्ने दाबी गरे ।

 उनले पार्टीको घोषणापत्र मात्र नभएर यो राष्ट्रको घोषणापत्र भनेर बुझ्न आग्रह गरे । उनले शान्ति, स्थायित्व, विकास,समुन्नत र सम्बृद्धिका पक्षमा घोषणापत्र रहेको बताए । उनले संयुक्त राष्ट्र संघको अवधारणाअनुसार शिक्षा, स्वास्थ्य गरिवि निवारणलगायतालाई प्राथमिकतामा राखिएको पनि बताए ।समग्र घोषणापत्रले नेपालको दिगो बिकास र सम्बृद्ध नेपालको परिकल्पाना गरेकाले त्यो पुरा भएरै छाड्ने ओलीको तर्क थियो ।

‘यो चुनावी घोषणपत्र मात्रै होइन, यो देश विकासको मेरुदण्ड हो, राष्ट्र निर्माणको सर्वोत्कृष्ट घोषणा हो  ’ ओलीले भने‘ यी उद्देश्य प्राप्त गर्ने हाम्रो चुनाव लड्न मात्रहोइन देश बनाउन हो ।’

आफ्ना योजना र घोषणापत्रलाई विपक्षीहरुले गलत ढंगले अपब्याख्या गर्न सक्ने भन्दै उनले गठबन्धनको लोकतन्त्रप्रतिको निष्ठामा शंका उपशंका नगर्न आग्रह समेत गरे ।

ओलीले आफूहरुको परराष्ट्र नीति सन्तुलित हुने बताउँदै भने, ‘चीन र भारत दुवैसँग समानताका आधारमा सम्बन्ध हुनेछन् । सामाजिक न्याय र समानताका आधारमा सम्बन्ध विस्तार हुनेछ ।’
स्थायित्व विना देशको विकास सम्भव नहुने भन्दै  आर्थिक विकासमा देशकै जनशक्तिको प्रयोग तथा  आन्तरिक पुँजिको परिचालनमा जोड दिइने ओलीले बताए ।
उनले अगाडि भने, ‘बाह्य लगानी भित्र्याउने र फाइदा लिने कुरामा ध्यान गएको छ । यातायात, आवागमन, पानीमा जोडिएको देशमा मात्रै जहाज चल्छ भन्ने होइन, विज्ञान प्रविधिको अधिकतम प्रयोग गर्छौ ।’
ओलीले आवेश र उत्तेजनाका आधारमा नभई देशलाई दृढ संकल्पमा लैजान यो घोषणापत्र सार्वजनिक गरेको पनि स्पष्ट पारे ।

 

 


 

प्रतिक्रिया दिनुहोस