नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु

मंगलबार, १३ कार्तिक २०७५, १६ : ३०
नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु

सर्लाही  । रामनगर गाउँपालिकामा आज बिहान नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु भएको छ । 
गोली लागेर नेपाली काङ्ग्रेसका कार्यकर्ता रामनगर गाउँपालिका–४ बहुअर्वाका ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ६ः३० बजे गोली प्रहारबाट महतोको आफ्नै घर अगाडि मृत्यु भएको काङ्ग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले जानकारी दिनुभयो । 

गोलको छर्रा लागेर तथा झडपमा परेर सात जना घाइते भएका छन् । घाइते लिन पुगेको एम्बुलेन्समा समेत तोडफोड भएको छ । दश घरको खरले छाएको छानासमेत फुटाइएको छ । अन्य घाइतेको स्थानीयस्तरमा उपचार भइरहेको छ । 

सो स्थानमा सोमबार मात्रै काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष रामनरेश महतोमाथि आक्रमण भएको थियो । आक्रमणबाट वडाध्यक्ष महतोको टाउकामा गहिरो चोट लागेको तथा बायाँ खुट्टा भाँच्चिएको छ । 

आज बिहान गोली लागेर मृत्यु भएका रामविलास घाइते वडाध्यक्षकै काका हुन् । घटनास्थलमा अझै तनाव कायम रहेको प्रहरीले जनाएको छ । गोली चलेको ठाउँ आसपास अहिले व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताउनुभयो । । गोली प्रहार गर्ने व्यक्तिको पहिचान र खोजी गर्ने काम भइरहेको उहाँले बताउनुभयो । काङ्गे्रस र नेकपाका कार्यकर्ताबीच विवाद हुँदा गोली चलेको बताइए पनि घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस