मौरीपालनमा रमाएका भुषाल भन्छन्, ‘मौरी पालेरै बनिन्छ करोडपति’

हिरालाल आचार्य ‘डायमण्ड’

मंगलबार, १३ कार्तिक २०७५, १३ : २१
मौरीपालनमा रमाएका भुषाल भन्छन्, ‘मौरी पालेरै बनिन्छ करोडपति’

- हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । भरतपुर महानगरपालिका– २७ मगनीका ३९ वर्षीय भेषराज भुषालले मौरीपालन गर्न थालेको दस वर्ष भयो । वि.सं. २०६५ सालमा १ घारबाट मौरी पाल्न सुरु गरेका उनी अहिले ३५ घारका मालिक बनेका छन् । राम्रोसँग ध्यान दिएर व्यावसायिक रुपमा काम गर्ने हो भने मौरी पालेरै पनि करोडपति बन्न सकिने भुषालको भनाइ छ ।

काठमाडौँका पवनकुमार सत्यालले चितवनमा मौरी चराउन ल्याएको देखेपछि आफूलाई पनि मौरी पाल्न मन लागेको उनी सुनाउँछन् । उनले युरोपियन एपिस मेलिफेरा जातको मौरी पालेका छन् । यो जातको मौरी त्यति आक्रामक नहुने उनी बताउँछन् । मौरीपालनमा १० वर्ष बिताएका भुषालले त्यस अवधिमा अनेकौँ समस्या र चुनौती पनि खेपे । मौरीपालनमा चरनको समस्या रहेको उनले सुनाए ।

मौरी चराउनको लागि तोरी, चिउरी, फापर फुल्ने समयमा उनी चितवनको सिद्धिदेखि लिएर दाङसम्म पुग्ने गर्दछन् । चराउने ठाउँमा मौरीलाई छोडेर घर फर्किने र १५–१५ दिनमा मह काढ्न जाने गरेको उनले बताए । फूल नफुल्ने समयमा भुषालले मौरीलाई ७–७ दिनमा चिनीपानी, भटमासको धुलो लगायतका आहारा खुवाउने गरेका छन् ।

उनको घर नजिकै चितवन राष्ट्रिय निकुञ्ज छ । मौरीले जङ्गलमा गएर फुलको रस खाने गरेको उनले बताए ।  सुलसुले किरा लाग्ने गरेको भएपनि औषधि हालेर नियन्त्रण गर्ने गरेको उनले सुनाए  । चरा, अरिङ्गाल र माउसुलीबाट मौरीलाई जोगाउनु पर्ने चुनौती रहेको उनी बताउँछन् ।

मौरी पाल्न सुरु गरेको एक वर्षपछि मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले दिएको मौरीपालन सम्बन्धी पाँचदिने तालिम लिएका उनले त्यसपछि कुनै तालिम लिएका छैनन् । मौरी पाल्न आफूलाई अब कुनै अध्ययन आवश्यक नरहेको उनी बताउँछन् । मौरीको घार राख्नलाई छुट्टै जग्गा चहिएको छैन उनलाई । करेसाबारी र घरको पेटीमा राखेका छन् ।

२०७१ सालमा जिल्ला कृषि विकास कार्यालय चितवनले युवालक्षित मौरीपालन कार्यक्रम ल्याएर एक लाख ८० हजार बराबरको मौरी घार दिएको थियो भुषाललाई । त्यसपछि कहीँ कतैबाट पनि सहयोग प्राप्त नभएको उनले गुनासो गरे । भुषालले मौरीपालन व्यवसायबाट आफू सन्तुष्ट रहेको बताए । वर्षमा ६ पटक मह काढ्ने उनले एक पटकमा साढे तीन क्वीन्टल (तीन सय ५० किलो) मह निकाल्छन् । वर्षमा २१ क्विन्टल मह उत्पादन गर्ने गरेको उनले बताए ।

मौरी पाल्न सुरु गरेको वर्ष ५० रुपैयाँ किलोमा मह बेचेका उनले अहिले तीन सय रुपैयाँ किलोमा मह थोक बिक्रेतालाई बेच्ने गरेका छन् । उनले गैँडाकोटमा रहेको सागर मौरी घरमा थोक बिक्री गर्ने गरेको बताए । मह किन्नलाई उपभोक्ताहरु उनको घरमा पनि पुग्छन् । वर्षेनि पाँच क्विन्टल मह घरबाट खुद्रा रुपमा बिक्री हुने गरेको उनले जानकारी दिए । व्यवसाय सुरुगर्दाको समयमा घरबाट किलोको एक सय ५० रुपैयाँमा मह बेच्ने गरेका उनले अहिले प्रतिकिलो पाँच सय रुपैयाँमा मह बेच्ने गरेका छन् ।

मौरीपालनमा रमाएका भुषालले वर्षमा मह बिक्रीबाट ७ लाख रुपैयाँ आम्दानी गरेका छन् । वर्षमा जम्मा खर्च अढाई लाखमात्र हुने उनको भनाइ छ । उनले महमात्र होइन, मौरीघार पनि बेच्ने गरेका छन् । ३५ वटा घारका मौरीले वर्षमा थप ५० नयाँ घार मौरी उत्पादन गर्ने उनले बताए । प्रतिघार ६ हजारका दरले वर्षमा ५० वटा घार बेचेर उनले तीन लाख रुपैयाँ आम्दानी गर्छन् । व्यावसायिक मौरी पाल्नेहरु बढ्न थालेपछि घारको खपत बढेको उनले बताए ।

‘जसले मह काढ्छ, उसले हात चाट्छ’ भन्ने उखानलाई उनले पुष्टि गरेका छन् । विदेश जाने युवायुवतीलाई भुषालले स्वदेशमै मौरी पाल्न सुझाव दिएका छन् ।  राम्रोसँग मौरीपालन गरे विदेशमा भन्दापनि राम्रो कमाइ गर्न सकिने उनले बताए । लगनशिल भएर व्यावसायिक रुपमा मौरीपालन गर्न सके यहि पेसा गरेर पनि करोडपति बन्न सकिने उनको भनाइ छ ।
मौरीपालनमा बढी मेहनत र समय खर्च गर्नु नपर्ने उनले बताए । मौरीपालनमा उनीमात्र खटिन्छन् । ‘जे गर्छु म आफै गर्छु । यो काममा परिवारको पनि साथ चाहिएको छैन’ उनले भने । महलाई स्वादका लागि, पौष्टिकताका लागि र औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । मह सेवनबाट आफ्नो परिवार स्वस्थ रहेको उनले बताए । भुषालले मौरीपालनमात्रै होइन, खेतीपातीको काम पनि गर्दछन् ।

‘दिनभर यसैलाई कुरिरहनु पर्दैन, घण्टौँसम्म काम गरिरहनु पनि पर्दैन’ उनले भने, ‘सिजनको बेला चराउन बाहिर जाँदा केही समय दिनुपर्छ । अफसिजनको बेला आहारा खुवाउँदा हप्तामा एकदिन मात्र समय दिनु पर्छ । अरु समय खाली हुन्छ । त्यो समयमा खेतीपातीमा काम गर्छु ।’ उनले गाइवस्तु पनि पालेका छन् ।

मौरी चराउने सिजन भनेको कात्तिक, मंसिर, पुस र माघ महिना हो । खेती गर्ने समयमा उनीसँग फुर्सद पनि हुँदैन । अब धान थन्क्याएर मौरी चराउन जान लागेको उनले जानकारी गराए । मौरी पालेर स्वरोजगारको राम्रो उदाहरण बनेका भुषालबाट युवापुस्ताले पाठ सिक्न आवश्यक छ । गरे के पो हुँदैन र ?

प्रतिक्रिया दिनुहोस