काठमाडौँ । नेकपा माओवादी केन्द्रको अर्को केन्द्रीय समिति बैठकले मात्र महाधिवेशनको मिति तय गर्ने भएको छ । पार्टीको स्थायी कमिटी बैठकमा विशेष महाधिवेशनमा जाने वा नियमित महाधिवेशनमा जाने भन्ने विषयमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकेको हो ।
यो केन्द्रीय समिति बैठकले महाधिवेशनको आधार तय गर्ने र अर्को केन्द्रीय समिति बैठकले आयोजक समिति बनाउने उपमहासचिव हरिबोल गजुरेलको भनाइ छ । ‘अहिले सङ्क्रमणकालीन अवस्था छ । पार्टीप्रति जनताको आकर्षण बढ्दै गइरहेको बेला यो केन्द्रीय समितिले महाधिवेशनको आधार तयार गर्ने र अर्को केन्द्रीय समिति बैठकले आयोजक समितिमा रूपान्तरण गरी महाधिवेशनको मिति तय गर्छ । अहिले संगठन निर्माणका लागि बढी ध्यान केन्द्रित गर्ने गरी छलफल भएको छ,’ उनले भने ।
बैठकमा संक्रमणकालीन अवस्थामा कार्यविभाजनका लागि संयन्त्र बनाएर जानेबारे प्रस्ताव गरिएको छ । खास गरी जिल्लाको जिम्मेवारी प्रदेशले तोक्ने इन्चार्ज केन्द्रले तोक्दा जिम्मेवारी बाँडफाँटमा समस्या देखिएकाले संयन्त्र बनाएर हल खोजिनुपर्ने प्रस्ताव आएको उपमहासचिव गजुरेलले जानकारी दिए ।
यस्तै बैठकमा बदलिँदो सूचना र प्रविधिको समयमा सोही अनुसार संगठनात्मक सिद्धान्त बनाउनुपर्नेबारे बहस केन्द्रित भएको गजुरेलले बताए । बदलिँदो सूचना र प्रविधिको समयमा संगठनात्मक सिद्धान्त सोही अनुसार हुनुपर्छ भन्नेबारे बहस केन्द्रित भएको छ’, उनले भने, ‘यस्तै सङ्क्रमणकालीन अवस्थामा नेताहरूको उपयुक्त कार्यविभाजन कसरी गर्ने ? जिल्ला संयोजक प्रदेशले दिन्छ । इन्चार्ज केन्द्रले पठाउने गरेको छ । संयोजक र इन्चार्जबिच कसरी सन्तुलन गर्ने ? उनीहरूलाई जिम्मेवारी कसरी दिने भन्ने विषयमा संयन्त्र बनाएर जाऊँ भन्ने भएको छ ।’
बैठकमा वैचारिक राजनीतिक आधार तयार गर्ने विषयमा पनि छलफल भएको उनले बताए । यस्तै पछिल्लो समय पार्टी एकतामा आएका नेताहरूलाई केन्द्रीय समिति बैठकमा बोलाउने निर्णय भएको उनले जानकारी दिए । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई जिम्मेवारी दिने विषयमा प्रस्ताव आए पनि कुनै निर्णय नभएको उनले दाबी गरे । ‘पासाङजीलाई जिम्मेवारी दिने विषयमा प्रस्ताव आएको छ । तर कुनै निर्णय भएको छ । यसबारे उपयुक्त समयमा निर्णय हुने अध्यक्षले भन्नुभएको छ’, गजुरेलले भने ।
अर्का उपमहासचिव मात्रिका यादवले पनि बैठकले कुनै निर्णय नगरी सबै जिम्मेवारी केन्द्रीय समिति दिएको बताए । लेनिनकालीन संगठनात्मक सिद्धान्तबाट पछि हटेको नभई नेपालको परिवेशमा कसरी विकसित गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको उनले बताए । यसबारे पनि केन्द्रीय समिति बैठकले नै निर्णय गर्ने जानकारी दिए ।
यस्तै सचिव देवेन्द्र पौडेलले अहिले पार्टी संगठनमा देखिएको भद्रगोल अवस्थालाई अन्त्य गर्न संयन्त्र बनाएर जानेबारे छलफल भएको बताए । ‘नेताहरूको जिम्मेवारी सम्बन्धमा कुनै मापदण्ड बनेको छैन । वडा, पालिका, जिल्ला, प्रदेशसम्म सबैलाई जिम्मेवारी कसरी दिने भन्ने विषयमा छलफल भयो । अहिलेको सङ्क्रमणकालीन अवस्थामा अस्थायी रूपमा वरिष्ठताको आधारमा जिम्मेवारी दिएर पार्टीले थालेको अभियानमा पठाऔँ भन्ने प्रस्ताव आएको छ । यसबारे केन्द्रीय समितिले नै निर्णय गर्नेछ,’ पौडेलले भने ।
यसैगरी बैठकमा भएको छलफलबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले संगठनात्मक सिद्धान्तबारे छलफल केन्द्रित भएको बताएका थिए । ‘स्थायी समिति बैठकमा संगठनात्मक सिद्धान्तबारे छलफल भयो । अहिलेसम्म हामीले सामान्यतः मालेमावादको सिद्धान्त मानेर आइरहेका छौँ । अहिलेको विज्ञान र प्रविधिको जमानामा नयाँ संगठनात्मक सिद्धान्त आवश्यक रहेकोबारे छलफल भएको । यसलाई क्रमभंग गरेर जानुपर्छ भन्नेमा छलफल भएको छ,’ उनले भने ।
उनका अनुसार उद्घाटनपछि प्रदेश अध्यक्षले रिपोर्टिङ गर्ने र त्यसपछि मात्र प्रचण्डले प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको उनले जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न पार्टी परित्याग गरी ३७० जना माओवादी केन्द्रमा प्रवेश
अब जति पनि केन्द्रीय सदस्य बनाउन सक्ने माओवादीको निर्णय
नेसपाका केन्द्रीय सचिवालय सदस्य किरण थापासहित १४ जना माओवादीमा प्रवेश
खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको बैठक जारी
माओवादी केन्द्रको मध्य पहाडी अभियान स्थगित