इपिएलमा भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै विराटनगर वारियर्स विजयी

शनिबार, १५ पुस २०७४, १७ : ४९
इपिएलमा भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै विराटनगर वारियर्स विजयी

चितवन ।  एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि विराटनगर वारियर्सले जितेको छ । शनिबार भएको फाइनलमा भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै विराटनगरले उपाधि जितेको हो ।

उपाधिसँगै विराटनगरले २१ लाख प्राप्त गरेको छ । उपविजेता बनेको भैरहवाले ८ लाख रूपैयाँ प्राप्त गरेको छ । योसँगै विराटनगरले इपिएल क्रिकेटमा भैरहवालाई तेस्रो पटक हराउदै उपाधि जितेको हो । यसअघि लिग चरण र पहिलो क्वालिफायर्समा भैरहवा विराटनगरसँग पराजित भएको थियो ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विराटनगरले दिएको १५० रनको लक्ष्य पछ्याएको भैरहवाले पुरै २० ओभरमा ९ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो । भैरहवाका लागि कप्तान शरद भेषवाकरले ५२ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन । उनले ४९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै प्रथम शालुन्केले ३० रन जोड्दा आरिफ शेखले २७ रन जोडे ।

रोमान्चक बनेको खेलमा भैरहवालाई अन्तिम ओभरमा ९ रन चाहिएको थियो । तर, विराटनगरका बलर अनिल कुमार साहले अन्तिम ओभरमा २ विकेट लिदै ७ रन खर्चिएपछि विराटनगरले १ रनले खेल जितेको हो । विराटनगरका लागि कप्तान पारस खड्काले ३ तथा करण केसी र अनिलले समान २ – २ विकेट लिए । विराटनगरको लागि बलर अंशुमन रथले खराब बलिङ गरे । हङकङका रथले विना विकेट सातौं ओभर ३७ रन खर्चिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । विराटनगरका लागि ओपनर अंशुमन रथले ४१ तथा कप्तान पारस खड्काले २७ रन जोडे ।

त्यस्तै अनिल कुमार साहले २२, प्रनित थापा मगरले १४ तथा बाबर हायातले ११ रन बनाए । भैरहवाका हरीशंकर साह र कृष्ण कार्कीले समान २ – २ विकेट लिए ।

इपिएल क्रिकेटमा विराटनगर अपराजित रहदै फाइनलमा पुगेको हो । यता, शरद भेषवाकरको टोली भैरहवाले दुई खेलमा पराजय बेहोरे पनि फाइनलमा पुगेको थियो ।

भैरहवा एक लिग खेल र पहिलो क्वालिफायर्स गरी दुवै खेलमा विराटनगरसँग पराजित भएको थियो । तर, दोस्रो क्वालिफायर्समा जित निकाल्दै भैरहवाले फाइनलमा पुग्दै विराटनगरसँगको भेट पक्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस