ठेकेदार मन्त्री बिक्रम पान्डे अमेरिकी ग्रीन कार्ड होल्डर , अकुत पैसा अमेरिका लगेको खुलासा

सोमबार, २० कार्तिक २०७४, २१ : २२
ठेकेदार मन्त्री बिक्रम पान्डे अमेरिकी ग्रीन कार्ड होल्डर  , अकुत पैसा अमेरिका लगेको खुलासा

म्यारिल्याण्ड, देउबा सरकारका वन मन्त्री बिक्रम पाण्डेले अमेरिकाको ग्रीन कार्ड लिएको खुलासा भएको छ ।

राप्रपा नेपालका उपाध्यक्ष तथा चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका पाण्डेले अमेरिकामा अस्थायी बसोबासको प्रवेशाज्ञा (ग्रीन कार्ड) पाएको तथ्य सार्वजनिक भएको हो ।

पाण्डेका छोरा अमेरिकाको म्यारिल्याण्डस्थित व्हाइट मार्समा बस्दै आएका छन् ।

सार्वजनिक भएको जानकारी अनुसार, अमेरिकी ग्रीन कार्ड पाएका उम्मेदवार तथा मन्त्री पाण्डेको भिआईपी क्षेत्रमा घर समेत रहेको छ । पाण्डेका छोरा तथा श्रीमती अमेरिकामा बस्दै आएका छन् । पाण्डे समेत बेलाबखत छोरा भेटन अमेरिका जाने गरेका छन् ।

नेपालमा बसेर क श्रेणीको निर्माण कम्पनी चलाउँदै आएका पाण्डे यतिखेर चितवन क्षेत्र नं. ३ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग चुनावी प्रतिष्पर्धा गर्दैछन् । चितवन र नेपालका कतिपय उद्योगहरुमा समेत लगानी गरेका पाण्डेको अमेरिकी ग्रीन कार्डका बारेमा छानबीन भएको खण्डमा उनको उम्मेदवारी समेत प्रभावित हुन सक्ने देखिन्छ ।

मन्त्री पाण्डेले छोरामार्फत नेपालबाट अमेरिकामा समेत आर्थिक कारोबार गर्ने गरेको थप खुलासा भएको छ । नेपालमा आर्जन गरेको रकमको कर छल्न तथा कारोबारको बिस्तार गर्न अमेरिकामा उनको लगानी रहेको थप तथ्य समेत सार्वजनिक भएको हो ।

तस्वीरमा मन्त्री पाण्डे आफ्नो छोरासँग उभिएका देखिन्छन् । म्यारिल्याण्डस्थित नेपालीहरुले उपलब्ध गराएको तस्वीरमा उनका छोरा लक्झरी कारछेउ उभिएको देखिन्छ ।

चितवन क्षेत्र नं. ३ मा उम्मेदवार बनेका पाण्डे पार्टीभित्रका नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेपछि झन संकटमा परेका छन् । गत शनिबार मात्रै पाण्डेका दाहिने हात मानिने चितवनका प्रभावशाली राप्रपा नेता बद्री तिमिल्सिना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । तिमिल्सिनाले सार्वजनिकरुपमा नै पाण्डेको विकासको कुरा बाहिर देखिने मुकुण्डो मात्र भएको बताउँदै उनले आम जनतालाई ढाँट्दै आएको बताएका थिए । प्रचण्ड विजय अभियानको उदघाटन समारोहमा बोल्दै तिमिल्सिनाले पाण्डेले गरीबलाई सहयोग गरेको बताएपनि जनतासँग हात मिलाएपछि घीन मानेर एकछिन पनि धुने गरेको समेत आरोप लगाएका थिए । यतिमात्र होइन, चितवनमा आफूले गरेका कतिपय विकास निर्माण र जनतालाई प्रत्यक्ष प्रभाव पार्ने काम समेत पाण्डेले गरेको भन्ने झूठो प्रचार गरिएको उनको भनाई थियो ।

विगतमा एमाले नेता लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री हुँदा सार्वजनिक पद धारण गर्ने व्यक्तिले ग्रीन कार्ड लिएको पाइए कार्वाही गरिने विषयले चर्चा पाएको थियो । नेपालमा बसेर अर्को देशको स्थायी या अस्थायी बसोबास या नागरिकता लिनु राष्ट्रिय स्वाभिमान र नैतिकताबिरोधी भएको बताउँदै पाण्डेले डिभी परेका र ग्रीन कार्ड लिएका कर्मचारीहरुविरुद्ध कानुनी उपचारका लागि पहल गरेका थिए । ग्रीन कार्ड, पिआर लिएर देशको प्रशासनिक क्षेत्र, सुरक्षा अङ्ग, आर्थिक क्षेत्रमा बसेकाले देशलाई माया नगरी देशको पसिनाबाट तलब खाएर बसेको देशको दुश्मन भएको टिप्पणी गरेका थिए ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका छोराको ग्रीन कार्ड भएको खुलासा भएपछि सो विषयले समेत व्यापक चर्चा पाएको थियो । लगत्तै नेता रामचन्द्र पौडेलले आफ्ना छोरा चिन्तन पौडेललाई गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण समन्वय बोर्डको कार्यकारी उपाध्यक्षबाट राजीनामा गराएर अमेरिका पठाएको समाचार सार्वजनिक भएको थियो ।

पण्डितले छानबीन अघि बढाउँदा विभिन्न तहका झण्डै तीन सय सरकारी कर्मचारीहरुले विदेशी मुलुकको पीआर र ग्रिनकार्ड लिएको प्रमाणित भएको बताएकाथियो ।

 

प्रतिक्रिया दिनुहोस