काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्वले समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निभाएको बताएका छन् ।
तीजको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, कहिंसा एवम् सामाजिक कुरीतिको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिएको उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले तीज पर्वले हामी सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै, देशका हरेक सार्वजनिक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त बनाउँदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
“नेपाली हिन्दू महिलाहरूको महान् चाड तीजको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवम् पारिवारिक सद्भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु”, उनको शुभकामना सन्देशमा उल्लेख छ ।
राष्ट्रपति पौडेलले विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बी महिलाहरूले भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउने यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बताए । उनले सन्देशमा भनेका छन्, “तीज पर्वमा नेपाली नारीहरूले आफ्नो अटल सौभाग्य तथा समृद्धिका लागि भगवान् शिव र पार्वतीको पूजाआराधना गरी व्रत बस्ने प्रचलन रहेको छ । परापूर्वकालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बका रुपमा यो चाड मनाउँदै आइरहेको मैले महसुस गरेको छु ।”
समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्दछन् भन्दै राष्ट्रपति पौडेलले आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कलासंस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न यस्ता मौलिक चाडको गरिमालाई सम्मानजनक बनाई राख्नु अति आवश्यक रहेको बताएका छन् । साथै, यस पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने गरेको भड्किलोपन तथा खर्चिलोपनलाई न्यून गर्दै विकृति र विसङ्गतिलाई हटाउँदै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न पनि आवश्यक देखिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ भदौ २०८१, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलबाट जितिया पर्वको शुभकामना
आज बाल दिवस मनाइँदै, राष्ट्रपति पौडेलद्वारा शुभकामना
मध्यरातसम्म राष्ट्रपतिको अग्रसरता, आज बन्ला त चुनावी अन्तरिम नागरिक सरकार ?
संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति
राष्ट्रपतिको बोहराटारस्थित घरमा आगजनी
जेनजी प्रदर्शनबीच राष्ट्रपति सभागृहमा आयोजित कार्यक्रममा सहभागी