चितवन । हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैँको अवसर पारेर भोलि बुधबार घटस्थापनादेखि महाअष्टमीसम्म तेस्रो छितामाई तथा नवदुर्गा पूजा एवं दशहरा मेला सञ्चालन हुने भएको छ ।
पटिहानी मध्यवर्ती उपभोक्ता समिति, बेलशहर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह र थारु कल्याणकारी सभा बेलोध प्रगन्ना क्षेत्र नं. ५ ले संयुक्त रुपमा मेला आयोजना गरेका हुन् । मेलाको संरक्षकमा भरतपुर महानगरपालिका वडा नं. १३, १४ र २२ रहेका छन् ।
मेला आयोजनामा चार लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । मेलाको खर्च आयोजक र संरक्षक संस्थाहरुबाट जुटाइने संयोजक शंकर महतोले जानकारी दिनुभयो । आठ दिनसम्म चल्ने मेलामा छितामाईको पूजा आराधना साथै दुर्गा भगवतीको पूजा, आराधना र सप्तमी अर्थात् फूलपातीको दिन गोरखा कालिकाबाट छितामाईसम्म फूलपाती भित्र्याउने कार्यक्रम रहेको मेला आयोजक मूल समिति संयोजक महतोले बताउनु भयो । मेलामा सबै दिन थारु झाम्टा, लोक तथा आधुनिक नृत्य लगायत विविध साँस्कृतिक कार्यक्रम हुने उहाँले बताउनु भयो ।
मेलाको बारेमा जानकारी दिन मंगलबार छितामाई क्षेत्रमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, असोज २४ गते खुल्ला भजन किर्तन प्रतियोगिता, २५ गते खुल्ला भलिबल, २६ गते खुल्ला ब्यटमिन्टन र २७ गते महिला समूहस्तरीय हाजिरीजवाफ प्रतियोगिता हुनेछन् । असोज २८ गते लोकदोहोरी र भेट्रान भलिबल प्रतियोगिता, २९ गते डुंगादौड र कुखुराको भाले समाउने प्रतियोगिता हुनेछ ।
गोरखाबाट सप्तमीका दिन फूलपाती भित्र्याएपछि ३१ गते नियमित कालारात्री पूजा हुनेछ । संयोजक महतोको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा सहसंयोजक टेकनाथ तिमिल्सिनाले धन्यवाद ज्ञापन र प्रचारप्रसार उपसमिति संयोजक अपिल घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । आदिवासी थारुहरुको प्रशासनिक क्षेत्र तत्कालीन बेलोध प्रगन्ना र हालको भरतपुर महानगरपालिका वडा नं. १३ बेलशहर मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र छितामाई रहेको छ । छितामाईलाई यहाँका आदिवासी थारुहरुले परापूर्वकालदेखि शक्तिपीठ र आराध्य देवीको रुपमा पूजा गर्दै आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ असोज २०७५, १५ : ५३
लेखकबाट थप