जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले एक वर्षमा दुई सय ६४ वटा आयोजना सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ दुई सय ६८ योजना सम्झौता भएकोमा दुई सय ६४ आयोजना उपभोक्ता समिति र ठेक्का प्रक्रियाबाट निर्माण सम्पन्न भई सञ्चालनमा आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रावलले बताए । पालिकाको समग्र भौतिक प्रगति ८९ प्रतिशत भएको छ । उक्त आयोजनाका लागि रु १२ करोड ३६ लाख बजेट खर्च भएको छ । कूल योजनाको पाँच प्रतिशत रकमबाहेक अरु सबै योजना सम्पन्न गर्न पालिका सफल भएको प्रमुख प्रशासकीय अधिकृत रावलको भनाइ छ ।
भौगोलिक विकटता र गाउँ बस्तीको आवश्यकतालाई मध्यनजर गर्दै भौतिक विकास पूर्वाधारलाई विशेष प्राथमिकता राखेर काम गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए । विकास निर्माणलाई सही रूपमा कार्यान्वयन गर्नेका लागि पालिकाले हरेक योजनाको अनुगमनलाई तीव्रता दिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ ।
पूर्वाधारको पुँजीगत खर्च ७४ प्रतिशत
पूर्वाधार विकास कार्यालय जुम्लाले गत आव २०८०/८१ मा पुँजीगत खर्च ७४ दशमलव ८६ प्रतिशत गरेको छ । कार्यालयको वार्षिक विनियोजन जम्मा बजेट रु ५७ करोड ३२ लाख ४२ हजार मध्ये ४२ करोड ५३ लाख ४ हजार खर्च भएको छ । अर्थात् कुल बजेटको ७४ दशमलव ९३ प्रतिशत बजेट खर्च भएको पूर्वाधार विकास कार्यालयका प्रमुख पदमप्रसाद देवकोटाले जानकारी दिए ।
पुँजीगततर्फ वार्षिक विनियोजित बजेट ५६ करोड ७८ लाख ८८ हजारमध्ये रु ४१ करोड ७७ लाख ९१ हजार खर्च भएको छ । पुँजीगततर्फ कूल बजेटको ७४ दशमलव ८६ प्रतिशत खर्च हो । कार्यालय प्रमुख देवकोटाले भने, “चालुतर्फ रु एक करोड २४ लाख ५४ हजार बजेटमध्ये रु ९७ लाख ४२ हजार अर्थात् ७८ दशमलव २३ प्रतिशत बजेट खर्च भएको कार्यालय प्रमुख देवकोटाको भनाइ छ ।” पूर्वाधार विकास कार्यालयले जिल्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित भैसेडीमा हिमा नदी माथि पक्की पुल निर्माण गरेको छ । गत आवमा २ दशमलव ६३ किलोमिटर कालोपत्रे र पक्की सडक निर्माण गरिएको छ । यसैगरी १७ दशमलव ९४ किमी सडक ग्राभेल, सडक स्तरोन्नति, नाला निर्माण तीन किमी निर्माण गरिएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख देवकोटाले बताए ।
कर्णाली प्रदेश सरकारको समानिकरण बजेटबाट जनता आवास कार्यक्रमअन्तर्गत ११ वटा र विपन्न घर कार्यक्रमअन्तर्गत नौ वटा घर निर्माण भइ सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय जुम्लाले जनाएको छ । कार्यालयले तातोपानी, सिंजा र तिला गाउँपालिका गरी तीन वटा स्थानीय तहमा झोलुङ्गे पुल निर्माण गरेको छ । झोलुङ्गे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १९ साउन २०८१, १३ : ४३
लेखकबाट थप