मुख्यालय तानिएका सशस्त्रका एसपीमाथि समिति बनाएरै छानबिन शुरू

सफल खबर संवाददाता

विहीबार, २७ असार २०८१, १० : ४६
मुख्यालय तानिएका सशस्त्रका एसपीमाथि समिति बनाएरै छानबिन शुरू

विराटनगर। तस्करीमा संग्लग्नसँग मिलेमतो गरेको आरोप लागेर मुख्यालय (हेडक्वाटर) तानिएका सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्कामाथि छानबिन शुरू भएको छ । उनीमाथि छानबिन गर्न डीर्आइजीको नेतृत्वमा टोली गठन भएको हो ।

सशस्त्र प्रहरी बल मुख्यालयले सीमा विभागका डीआईजी लक्ष्मणबहादुर सिंहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाइएको छ ।

समितिमा एसपी माधव रेग्मी र डीएसपी भुवन भण्डारी सदस्य छन् । गठित समितिका सदस्य एसपी रेग्मी मोरङ आएर घटनाको अनुसन्धान शुरू गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए ।

सीमा विभागबाटै समिति बनाएर एसपी खड्कामाथि छानबिन तथा अनुसन्धान शुरू गरिएको उनले बताए । गत आइतवार बनाइएको समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने उनले बताए । ‘समितिले फिल्डमा पुगेर काम शुरू गरिसकेको छ उनले भने, ‘तस्करीमा एसपीको संलग्नता छ–छैन भनेर वास्तविकता बुझ्दैछौँ ।’ समितिको प्रतिवेदन अध्ययनपछि अरु प्रक्रिया अघि बढ्ने उनले बताए ।

२०८० फागुनको पहिलो साता खड्काले मोरङको कमान्ड सम्हालेका हुन् । सशस्त्र प्रहरी बल १ नम्बर बाहिनी इटहरीबाट डीआईजी अञ्जनी पोख्रेल सरुवा भएपछि उनी तस्करीमा संग्लग्न भएको आरोप छ । तस्कर समूहसँग मिलेमतो गरी नेपाल–भारत सीमा क्षेत्रमा अवैध असुली गरेको उनीमाथि आरोप लागको हो । 

 

 

 

 

 

 

 

विराटनगरका व्यापारी विनोद केशरीले करिब एक महिनाअघि भारतबाट भन्सार छली गरेर ल्याएको चिनी नियन्त्रणमा लिएको भएपनि रकम लिएर त्यत्तिकै छाडिदिएको भन्दै सशस्त्र प्रहरी बल मुख्यालय, हलचोकमा उजुरी परेको थियो । 

प्रतिक्रिया दिनुहोस