मेलम्ची आयोजनाले हेडबक्स सार्ने प्रक्रिया सुरु गर्‍यो

सफल खबर संवाददाता

मंगलबार, ०४ असार २०८१, ११ : ५५
मेलम्ची आयोजनाले हेडबक्स सार्ने प्रक्रिया सुरु गर्‍यो

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ ।मन्त्रीपरिषद् बैठकले आयोजनाको हेडबक्स सार्नका लागि सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै आयोजनाले विस्तृत अध्ययनका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको हो ।

गत जेठ २४ गतेको मन्त्री परिषद् बैठकले आयोजनाको हेडबक्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो । सो निर्णयसँगै आयोजनाले असार मसान्तभित्र सम्ममा विस्तृत अध्ययनका लागि परामर्शदाता छनौटका लागि इओआई निकाल्ने गरी तयारी अघि बढाएको आयोजना प्रमुख रत्न लामिछानेले जानकारी दिए ।

२०७८ साल असार १ गते आएको बाढी पहिरोले हेडबक्सको ९० प्रतिशत भूभाग गेग्रानले पुरेको थियो । त्यसलगत्तै हेडबक्स वरपरको गेग्र्यान सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते आएको बाढीले गेग्र्यान थुपारेको थियो । अहिलेको हेडबक्सको क्षेत्र नजिकै सधैँ पहिरो बगिरहने ठुलो पहाड रहेको छ ।

विषय विज्ञहरूबाट गराइएको विभिन्न अध्ययनहरूले हेडबक्सलाई पुनः सोही स्थानमा निर्माण गर्नु थप जोखिमयुक्त रहने देखाएकाले हेडबक्स सार्ने निर्णयमा पुगेको आयोजनाले जनाएको छ ।

दातृ निकाय एशियाली विकास बैंकले २ वर्षअघि नै हेडबक्स सार्न खानेपानी मन्त्रालयलाई सुझाव दिएको भएपनि सरकारले केही दिनअघि मात्रै यसमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।हेडबक्सका संरचना बगरमुनि नै पुरिएका छन् र गेग्र्यान निकाल्न सकिने अवस्था छैन ।

हेडबक्सका पुरिएका संरचनालाई खोतलेर इन्टेकमाथि जालीको प्रबन्ध गरी गेग्र्यान छानेर पानी पठाउन सक्ने अवस्था नभएपछि विज्ञसँगको लामो परामर्श पछि आयोजनाले हेडबक्सलाई झन्डै १ हजार मिटर माथि सार्ने भएको हो । दुई वटा पहाडका बिच खोचमा सार्न लागिएको हेडबक्स निर्माणको विस्तृत अध्ययनका लागि असार मसान्त भित्र सूचना प्रकाशित गर्ने तयारी आयोजनाले गरेको प्रमुख लामिछानेले जानकारी दिए । 

पुरानो हेडबक्स भन्दा झन्डै १ हजार मिटर दूरी अगाडि (माथि) बनाउन लागिएको हेडबक्सका लागि झन्डै साढे ३ अर्ब लागत लाग्ने अनुमान आयोजनाले गरेको छ । असार भित्रै हेडबक्सको डिपिआरका लागि परामर्शदाता छनौट गर्न सूचना प्रकाशित गर्ने तयारी गरेको आयोजनाले समयमै काम सम्पन्न भएमा ४ वर्ष भित्र हेडबक्सका सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रक्षेपण गरेको छ ।

मेलम्ची परियोजनासँगै याङ्ग्री र लार्के खोलाको पानी पनि हेडबक्समार्फत नै सुरुङमा पठाइने हुँदा झण्डै याङ्ग्री र लार्के परियोजनाको डिपिआर पनि सँगै गरिने प्रमुख लामिछानेले जानकारी दिए ।  हेडबक्स सारेपनि त्यस भेमाथाङ विपत्तिको क्षेत्र भएकाले मेलम्ची, याङ्ग्री र लार्के परियोजना सम्पन्न गर्न अझै पनि कम  चुनौतीपूर्ण छैन । दोस्रो चरणको परियोजना अन्तर्गत याङ्ग्री र लार्केको पानी नदीमा मिसाएर हेडबक्स हुँदै काठमाडौँ ल्याउने सरकारको योजना थियो । तात्कालिन समयमा प्राविधिक हिसावले यी दुई खोलाको पानी मिसाउन सकियोस् भनेर हेडबक्स हेलम्बुको पुछारमा बनाइएको थियो ।

हेडबक्सलाई पानीसँग सम्बन्धित संरचनामा प्राथमिक गेटवे मानिन्छ । पानी जम्मा हुने, थिग्रिने,  बालुवा तथा ढुंगा छानिने लगायत संरचनाहरु हेडबक्स भित्र रहने गर्दछ । पहिला हेडबक्स बाहिर राखिएको थियो भने अबको संरचना टनेल भित्र नै राख्ने गरी व्यवस्थापन गरिने आयोजनाले जनाएको छ । हेडबक्स प्रयोगमा भएको संयन्त्रले बार्षाद्को समयमा पानीमा मिसिएर आउने बालुवालाई छान्ने गर्दछ ।

भेमाथाङ क्षेत्रमा आएको बाढीले आयोजनाको मुख्य हेडबक्स क्षेत्रमा ठुलो नोक्शान पु¥याएको थियो । त्यहाँ रहेका १९ गेटमध्ये दुई गेट मात्रै खोलेर अहिले काठमाडौँमा पानी ल्याइएको छ । मेलम्चीको बाढी आउनु एक वर्षअघि २०७७ चैतमा काठमाडौँमा पानी ल्याइएको थियो । सञ्चालनमा ल्याउने तयारीकै बिच बाढीका कारण हेडबक्स पुरिएपछि हिउँदको समयमा मात्रै वैकल्पिक टनेल बनाएर काठमाडौँमा पानी पठाउँदै आएको आयोजनाले वर्षा हुने क्रम बढ्दै गएपछि बिस्तारै बन्द गर्ने तयारी गरेको छ। यसअघि असार १ गते देखि काठमाडौं पठाउदै आएको पानी वितरण रोक्ने बताइएको थियो तर वर्षा र जोखिमलाई आङ्कलन गरेर मात्रै पानी बन्द गर्ने तयारी गरेको आयोजनाले अहिले नै पानी रोकिसकेको छैन । 

प्रतिक्रिया दिनुहोस