जयशंकरले गरे पदभार ग्रहण, परराष्ट्रमन्त्री श्रेष्ठले दिए बधाई

सफल खबर संवाददाता

मंगलबार, २९ जेठ २०८१, १३ : ५५
जयशंकरले गरे पदभार ग्रहण, परराष्ट्रमन्त्री श्रेष्ठले दिए बधाई

काठमाडौँ । भारत सरकारको विदेशमन्त्रीको रूपमा एस. जयशंकरले पुनः पदभार ग्रहण गरेका छन् ।दोस्रो कार्यकालमा विदेशमन्त्री बनेका जयशंकरले आज मन्त्रालयमा पदभार ग्रहण गरेपछि नेपाली समकक्षी उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ बधाई दिएका छन् ।

श्रेष्ठले नेपाल–भारत बिचको न्यानो र घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउनका लागि सहकार्य गर्न तत्पर रहेको एक्समार्फत जनाएका छन् ।जवाफमा जयशंकरले पनि परराष्ट्र मन्त्री श्रेष्ठलाई धन्यवाद दिँदै नेपाल–भारतको प्रगतिका लागि मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

जयशंकर सन् २०१९ मा पहिलो पटक विदेशमन्त्री चयन भएका थिए । विदेश सचिवबाट अवकाश लिएपछि उनी मन्त्रीमा नियुक्त भएका हुन् । भारतमा उनलाई सफल कूटनीतिज्ञ मानिन्छ । त्यही भएर प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई दोस्रो कार्यकालमा पनि मन्त्रीको रूपमा समेटेका हुन् ।

नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री भएको बेला चीन भ्रमणमा जाँदा जयशंकर त्यहाँ भारतीय राजदूत थिए । जयशंकरसँग मोदीको पहिलो भेट त्यहीँ भएको थियो ।सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि मोदी अमेरिकाको भ्रमणमा जाँदा जयशंकर त्यहाँका लागि भारतीय राजदूत थिए ।

अमेरिकामा मोदीको कार्यक्रमलाई भव्य रूपमा सफल बनाउनमा जयशंकको मुख्य भूमिका थियो । त्यहीबाट प्रधानमन्त्री मोदी जयशंकरबाट प्रभावित भएका थिए ।जयशंकर अमेरिकाबाट फर्केपछि विदेश सचिव भएका थिए ।

त्यसपछि दुवै जनाको बिचमा लामो समय सहकार्य भयो । दुवै जनाले विभिन्न मिसनमा मिलेर काम गरेका थिए ।सचिवबाट हट्ने बित्तिकै प्रधानमन्त्री मोदीले जयशंकरलाई राज्य सभाको सदस्य बनाएर विदेश मन्त्रीमा नियुक्त गरेका थिए । जयशंकर मन्त्री भएपछि पनि पटक पटक नेपालका भ्रमण गरेका छन् । 

प्रतिक्रिया दिनुहोस