काठ, दाउरा दिँदा प्राकृतिक प्रकोपमा परेकालाई पहिलो प्राथमिकता

हिरालाल आचार्य ‘डायमण्ड’

बुधबार, १० असोज २०७५, १५ : ४९
काठ, दाउरा दिँदा प्राकृतिक प्रकोपमा परेकालाई पहिलो प्राथमिकता

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर दुईमा रहेको जलदेवी सामुदायिक वन उपभोक्ता समूहले प्राकृतिक प्रकोपमा परेकालाई पहिलो प्राथमिकतामा राखेर काठ, दाउरा वितरण गर्दै आएको छ । 

वन समूहको कार्यसमितिका सह सचिव पदमराज सिग्देलले प्राथमिकताका आधारमा काठ, दाउरा वितरण गर्ने गरिएको बताउनु भएको छ । उहाँले प्राकृतिक प्रकोपलाई पहिलो प्राथमिकतामा राखिएको बताउनु भयो । त्यसपछि क्रमशः नक्साको आधारमा निर्माणाधीन भवनका लागि काठ वितरण गरिने उहाँले जानकारी दिनुभयो । मर्मत संभारको काम र असहाय वर्गलाई तेस्रो प्रथामिकतामा राखेर काठ, दाउरा उपलब्ध गराउँदै आएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सर्वप्रथम काठको माग फारम भराइन्छ, उक्त फारमको आधारमा क्रम संख्या निर्धारण गरिन्छ, र त्यही क्रम संख्यालाई आधार मानेर क्रमिक रुपमा काठ, दाउरा वितरण गरिन्छ ।’ १ हजार ३ सय उपभोक्ता रहको वन समूहले नियमित रुपमा वन गस्तीमा जाने तथा विपन्न वर्गका उपभोक्तलाई ‘क’ श्रेणीमा र नियमित गस्तीमा नजाने तर समितिलाई आवश्यक सहायोग गर्ने उपभोक्तालाई ‘ख’ श्रेणीमा राखेको छ । उपभोक्ता सदस्यता प्राप्त तर वन संरक्षणमा योगदान कम गर्नेहरुलाई ‘ग’ श्रेणीमा राखेको छ । यही श्रेणीक्रमलाई आधार बनाएर उपभोक्तालाई काठ, दाउरा वितरण गर्ने गरिएको उहाँको भनाई थियो ।

उपभोक्ता सदस्यता प्राप्त गरेकाबाहेक अरुलाई काठ, दाउरा उपलब्ध गराउनु परेमा समितिको सिफारिसमा सामाजिक एवं सार्वजनिक कामको लागि उपलब्ध गराउने गरिएको उहाँले बताउनु भयो । भरतपुर महानगरपालिका वडा नम्वर दुईभित्र प्राकृतिक प्रकोपमा परेका तर उपभोक्ता सदस्यता प्राप्त नगरेका भएपनि काठ, दाउरा वितरण गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

के भन्छन् उपभोक्ता ?
उपभोक्ता रामकुमार श्रेष्ठले वन र नवनिर्मित पार्कभित्र सरसफाई गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सहुलियत दरमा क्रमिक रुपमा काठ उपलब्ध भइरहको बताउनु भयो । उहाँले समितिले काठ, दाउरा वितरण गर्दा सबै उपभाक्तालाई समान नजरमा हेरिदिए आफू सन्तुष्ट हुने बताउनु भयो ।

अर्की उपभोक्ता देवकी विकले चाहिएको जति काठ पाउन नसके पनि आफू समितिको कामबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिनुभयो । 

वन समूहकी उपभोक्ता मुना गुरुङले मागेको जति काठ समयमा पाउन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो ‘पुरानो घरमा झयाल, ढोका हाल्नको लागि काठ चाहियो भनी वि.सं. २०७४ सालमा माग फारम भरेको थिएँ तर अहिले २०७५ साल हुँदासम्म पनि काठ पाउन सकेको छैन । काठको लागि वन समूहमा धाउँदा धाउँदा पाउने आशा पनि मर्न लागिसकेको छ ।’ वन समूहले भनेको बेलामा काठ उपलब्ध गराउन नसकेको उहाँको भनाई थियो । सह सचिव सिग्देलले मुना गुरुङ क्रम संख्यामा पछाडि रहेको कारण काठ छिटो उपलब्ध गराउन नसकिएको प्रतिक्रिया दिनुभयो । 

यो पनि
पर्यटक तान्न पार्क सिँगार्दै जलदेवी सामुदायिक वन

प्रतिक्रिया दिनुहोस