बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित, ६० भन्दा बढी घरमा क्षति

रासस

मंगलबार, ०८ जेठ २०८१, १६ : ०५
बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित, ६० भन्दा बढी घरमा क्षति

बाँके। बाँकेको नेपालगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार बेलुकाको हुरीबतासले विद्युत् सेवा प्रभावित भएको छ ।

नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख इञ्जिनियर जगन्नाथ लामिछानेले त्यस क्षेत्रमा एक सय ५० भन्दा बढी पोल र चार ट्रान्सफर्मर क्षतिग्रस्त भएपछि विद्युत् सेवा प्रभावित भएको जानकारी दिए ।उनले कतिपय ठाउँमा पोल गाडेर विद्युत् आपूर्ति गरिए पनि ग्रामीण क्षेत्रमा भने अझै समस्या रहेको बताए ।

लामिछानेका अनुसार खजुरा गाउँपालिकामा ७०, नेपालगन्जमा ४०, जानकी गाउँपालिकामा १५ र राप्तीसोनारीमा करिब २० पोल भाँचिएका छन् । त्यसबाट रु ५० लाख बराबरको क्षति भएको र विस्तृत विवरण संकलनको काम भइरहेको छ ।

हुरीबतासले जानकी–४ मा कच्ची घर भत्केर च्यापिँदा गर्भवती २२ वर्षीया फारुन शाही र ८५ वर्षीया खटिमा शाही घाइते भएका थिए ।यस्तै नेपालगन्ज–१२ निवासी ७१ वर्षीय अम्मरबहादुर खड्का र त्यसबाहेक डुडुवा तथा बुलबुलियामा रुखको हाँगा लागेर दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिकामा पनि हुरीबतासले ६० भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । यहाँ १५ घरमा पूर्ण, २० घरमा आंशिक र २५ घरमा सामान्य क्षति भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।

हुरीबतासले स्थानीय किसानका लिची, आँप र तरकारीलगायत खेतीमा ठूलो नोक्सानी भएको स्थानीय प्रशासनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस