मनसुन सक्रिय हुनुपूर्व निरन्तर बढ्यो गर्मी, तराई क्षेत्रको अधिकतम तापक्रम ४० डिग्रीमाथि

सफल खबर संवाददाता

शुक्रबार, ०४ जेठ २०८१, १६ : १९
मनसुन सक्रिय हुनुपूर्व निरन्तर बढ्यो गर्मी, तराई क्षेत्रको अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं। नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ ।

देशका कतिपय स्टेसनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ ।महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले वर्षा गराउने प्रणाली नभएको तथा स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम बढेको बताइन् ।

उनले तराई क्षेत्रमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको र अझै बढ्न सक्ने जानकारी दिइन् । 'तापक्रम निरन्तर बढिरहेको छ । बिहीबार देशका आठ स्टेसनमा ४० डिग्री तापक्रम पुगेको थियो । अहिले पनि ३/४ स्टेसनमा ४० डिग्री कटेको देखिन्छ ।

तराईका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा निरन्तर तापक्रम बढिरहेको छ', उनले भनिन् ।मौसमविद् मानन्धरका अनुसार कपिलवस्तुको तौलिहवा र नेपालगञ्ज, बाँकेको खजुरालगायतका स्थानमा तापक्रम ४० डिग्री कटेको छ ।

उनले भनिन्, 'पूर्वी भेगमा बादल लागेको अवस्था छ, पश्चिमतर्फ वर्षा गराउने बादल देखिँदैन त्यसैले गर्मी अझै बढ्ने देखिन्छ ।'मौसमविद् मानन्धरका अनुसार नेपालमा हालसम्म सन् १९९५ जुन १६ मा ४६ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।

उक्त तापक्रम हालसम्मकै उच्च हो । काठमाडौंमा सन् ७ मे १९८९  मा अधिकतम तापक्रम ३६ दशमलव  ६ डिग्री पुगेको थियो ।तीन दिनयता काठमाडौं उपत्यकामा गर्मी महसुस भएको छ ।

काठमाडौंमा ३१ देखि ३३ डिग्री हाराहारी तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यो वर्ष औसत र औसतभन्दा बढी वर्षा हुने महाशाखाले जनाएको छ । यो वर्ष जुनको १३ तारिख अर्थात् जेठ ३१ गतेदेखि नेपालमा मनसुन भित्रिने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस