सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो, मेसी तेस्रो स्थानमा

सफल खबर संवाददाता

शुक्रबार, ०४ जेठ २०८१, १० : ४२
सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो, मेसी तेस्रो स्थानमा

काठमाडौँ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो यो वर्ष सबैभन्दा बढी कमाउने खेलाडीको सूचीमा पहिलो स्थानमा छन् । फोब्र्सले सार्वजनिक गरेको विश्वमा सर्वाधिक कमाउने खेलाडीको पछिल्लो सूचिमा रोनाल्डो पहिलो स्थानमा रहेका हुन् । 

३९ वर्षीय रोनाल्डो चौथो पटक फोब्र्सको सूचीको पहिलो स्थानमा परेका हुन् । रोनाल्डो हाल अल नासर क्लबबाट साउदी अरेबियाको व्यावसायिक लिग खेल्छन् । उनी निकै ठुलो पारिश्रमिकमा साउदी क्लबमा आबद्ध भएका हुन् । 

बिजनेस म्यागजिन फोब्र्सका अनुसार, समकालीन विश्व फुटबलका यी महान् खेलाडीले २६ करोड अमेरिकी डलर कमाएका छन् । उनले पछिल्लो एक वर्षको अवधिमा आफ्नो कमाइ निकै बढाएका छन् । समकालीन विश्व फुटबलका अर्का महान् खेलाडी लियोनल मेसी भने यो सूचिमा तेस्रो स्थानमा छन् ।

अर्जेन्टिनी स्टार मेसी हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्छन् । मेसीले १३ करोड ५० लाख अमेरिकी डलर कमाएका छन् । यो सूचिमा गल्फ खेलाडी जोन रहम २१ करोड ८० लाख डलरसहित दोस्रो स्थानमा छन् ।

यसैगरी बास्केटबल खेलाडी लेब्रोन जेम्स १२ करोड ८२ लाख अमेरिकी डलर कमाइसहित चौथो र बास्केटबलमै जियानिस एन्टेटोकुम्पो ११ करोड ११ लाख डलरसहित पाँचौँ स्थानमा छन् । फ्रान्सेली फुटबल स्टार केलियन एमबाप्पे ११ करोड १० लाख डलरसहित छैटौँ स्थानमा छन् ।

यसैगरी ब्राजिलियन फुटबलर नेमार १० करोड ८० लाख डलरसहित सातौँ, अर्का फुटबलर करिम बेन्जेमा १० करोड ६० लाख डलरसहित आठौँ, बास्केटबलमा स्टेफन करी १० करोड २० लाख डलरसहित नवौँ र अमेरिकन फुटबलका लामर ज्याक्सन १० करोड ५० हजार अमेरिकी डलरसहित १०औँ स्थानमा आसिन छन् ।

प्रतिक्रिया दिनुहोस