म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा नयाँ वर्ष मनाउन आउने आन्तरिक पर्यटकको घुइँचो

सफल खबर संवाददाता

शनिबार, ०१ बैशाख २०८१, १६ : ०५
म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा नयाँ वर्ष मनाउन आउने आन्तरिक पर्यटकको घुइँचो

गलेश्वर । देशका विभिन्न ठाउँबाट नयाँ वर्ष २०८१ मनाउन आएका आन्तरिक पर्यटकका कारण शुक्रबारदेखि नै म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा घुइँचो लागेको छ । नयाँ वर्ष २०८१ को पहिलो दिन आज सूर्योदयको दृश्यावलोकन गर्नका लागि म्याग्दीको पुनहिल जान आएका पर्यटकका कारण घोडेपानीका होटल खचाखच भरिएका छन् ।

पुनहिलबाट २०८१ सालको पहिलो सूर्योदय हेर्न देशका विभिन्न ठाउँबाट सयौँ आन्तरिक तथा बाह्य पर्यटक घोडेपानी आएका छन् । यहाँ आउने आन्तरिक पर्यटकमधये अधिकांश युवा छन् । म्याग्दी र मुस्ताङका धार्मिकस्थलमा पनि देवीदेवताको दर्शन र पूजन गरी नयाँ वर्ष मनाउन सयौँ व्यक्तिको जमघट भएको छ ।

कालीगण्डकीमा सङ्क्रान्ति स्नान गरी बेनीको बेनी शिवालय, गलेश्वरधाम, महारानी थानलगायत मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीकोे घुइँचो लागेको छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायत क्षेत्रमा आएका छन् । नयाँ वर्षको सुरुआतसँगै म्याग्दीका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिन थालेका छन् । सार्वजनिक तथा निजी यातायातका साधनमार्फत उनीहरु यहाँ आएका हुन् ।

पर्यटकीयस्थल पुनहिलबाट सूर्योदयको अवलोकन गर्न तीन दिनयता दैनिक सयौँ पर्यटक घोडेपानी आएका घोडेपानीका होटल व्यवसायी मीना पुनले बताए । स्थलमार्गबाट मुस्ताङ जाने पर्यटकका लागि बेनी प्रवेशद्वार भएकाले मुस्ताङ जाने पर्यटकको घुइँचो बेनीमा देख्न सकिन्छ । होटल व्यवसायी पुनका अनुसार नयाँ वर्ष २०८१ को पहिलो दिनको सूर्योदय हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको घोडेपानी र पुनहिलमा घुइँचो लागेको छ ।

मुस्ताङमा पनि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ह्वात्तै बढेको पर्यटन तथा होटल व्यवसायीले बताएका छन् । मुस्ताङको मुक्तिनाथ, जोमसोम, लेते र उपल्लो मुस्ताङको लोमान्थाङमा पर्यटकको लर्को लागेको जोमसोमका व्यवसायी नवीन शेरचनले बताए । चितवनको जगतपुर र पार्वतीपुरबाट म्याग्दीको घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको भ्रमणमा आउनुभएका हिमाल रिजाल, आरती सापकोटा, विमल पौडेललगायतको समूहका युवायुवतीले पाँच दिनसम्म म्याग्दी र मुस्ताङका पर्यटकीय र धार्मिक क्षेत्रको भ्रमण गर्ने योजनासहित आएको बताए ।

केही दिनयता बेनीमा आन्तरिक पर्यटकको आगमन साबिकको भन्दा उल्लेख्य रुपमा बढेको बेनीका होटल व्यवसायीले बताएका छन् । चैत अन्तिम सातादेखि नै म्याग्दीमा साबिकको भन्दा पर्यटक बढी आएका र अधिकांश ठूला होटल भरिभराउ भएको बेनीका होटल व्यवसायी बाबुराम आचार्यले जानकारी दिए । पहिला नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो । तर पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटक बेनी, बागलुङ कालिका र पञ्चकोटमा पुग्ने गरेकाले यस क्षेत्रको पर्यटकीय विकासमा थप सहयोग पुगेको उहाँको भनाइ थियो ।

कालीगण्डकीमा स्नान गर्नेको भीड

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन । बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । म्याग्दी र पर्वतका विभिन्न गाउँबाट बिहान सबेरै गङ्गा स्नान गर्न कालीगण्डकी आएका छन् । आज वर्षको पहिलो दिन भएकाले गङ्गा स्नानपछि मन्दिरमा पूजा गरेर घर गई मीठामीठा खानेकुरा पकाएर खाने र परिवारसँग बसेर रमाउने गरिन्छ ।

विभिन्न पौराणिक ग्रन्थमा कालीगण्डकीको महिमाको वर्णन गरिएको छ । यसको तटीय इलाका तथा प्रसवण क्षेत्रमा रहेका विभिन्न तीर्थस्थल, ऋषि महर्षिका आश्रमस्थल, धाम, घाट र मानव बस्तीका कारण यसको सभ्यता वैदिककालसँग जोडिएको कालीगण्डकी बचाउ अभियानका अभियानकर्मी बताउँछन् । कालीगण्डकीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक तथा पर्यटकीय दृष्टिले पनि ठूलो महत्व छ ।

हिन्दूहरुको पवित्र तीर्थस्थल दामोदरकुण्ड क्षेत्र ९तिब्बतको न्ह्युविन हिमालको ग्लेसियर० बाट उत्पत्ति भई मुस्ताङ प्रवेश गर्ने यो नदी नारायणीको एक प्रमुख शाखा हो । कालीगण्डकी उद्गम विन्दुबाट देवघाटसम्म करिब ६३० दशमलव ४० किलोमिटरको लामो दूरी पार गर्दै नारायणीमा मिसिन पुग्छ । दामोदरकुण्डबाट आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिन्छ ।

कालीगण्डकीलाई कृष्णगण्डकी पनि भन्ने गरिन्छ । कृष्णको अर्थ कालो भएको र कालीगण्डकीमा धेरैजसो समय कालो जल प्रवाहित हुने भएकाले यो नदीलाई कालीगण्डकी (कृष्णगण्डकी) भनिएको हो । प्रयाग, कुरुक्षेत्र तथा नैमिषरण्यमा सयौँ पटक स्नान गरेर पाइने फल कालीगण्डकीमा एकै पटक स्नान गरेर प्राप्त हुन्छ भन्ने कुरा स्कन्दपुराणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस