नयाँ वर्ष मनाउन पोखरामा पर्यटकको घुइँचोः ८० प्रतिशत होटल ‘अकुपेन्सी’, फेवा महोत्सव दोस्रो ‘ब्रान्ड’

सफल खबर संवाददाता

शनिबार, ०१ बैशाख २०८१, १५ : ०७
नयाँ वर्ष मनाउन पोखरामा पर्यटकको घुइँचोः ८० प्रतिशत होटल ‘अकुपेन्सी’, फेवा महोत्सव दोस्रो ‘ब्रान्ड’

पोखरा। नेपाली नयाँ वर्षको अवसरमा पोखरामा पर्यटकको घुइँचो लागेको छ । लेकसाइडका ८० प्रतिशतभन्दा बढी होटल एकदिनअगावै ‘अकुपेन्सी’ भएको होटल संघ पोखराले जनाएको छ ।नयाँ वर्षका अवसरमा होटल संघ पोखरा नेपालको आयोजनामा भइरहेको फेवा महोत्सवका कारण पनि यस समय पोखरामा आन्तरिक पर्यटक आर्कषित भएका छन् ।

फेवाताल संरक्षणको उद्देश्य बोकेर हरेक वर्ष आयोजना हुने फेवा महोत्सवको १९ औँ संस्करणमा पर्यटकको आगमन बढेको छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार नयाँ वर्षलाई लक्षित गरेर ८० प्रतिशत होटल शुक्रवार नै बुकिङ भएका थिए । त्यो क्रम शनिवार अझ बढेको छ ।

‘अहिले पर्यटकको आगमन राम्रो छ । नयाँ वर्ष इभको बेलुकासम्ममा ८० प्रतिशतभन्दा माथि होटल बुकिङ भइसकेका थिए । यो क्रम बढ्दो छ,’ उनले भने ।नेपालीको मौलिक संस्कृति र खानालई विशेष जोड दिएर आयोजना भएको फेवा महोत्सव बुधवार देखि शुरू भइ वैशाख १ गतेसम्म चलिरहेको छ ।

बढीभन्दा बढी आन्तिरक पर्यटक भित्र्याउनका लागि आयोजना भएको महोत्सवमा होटलले २० प्रतिशतसम्म छुटसमेत दिएको छ । पोखराका पर्यटन व्यवसायलाई लक्ष्य राखेपछि पछिल्ला वर्षको तुलनामा यस पटक नयाँ वर्षमा पर्यटकको आगमन बढेको छ । 

 

पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठ नयाँ वर्षमा पर्यटकको आगमन देखेर उत्साही भएको सुनाउँछन् । ‘नयाँ वर्षले पनि होला पोखरामा पर्यटकको आगमन बाक्लिएको छ । आन्तरिक र बाह्य पर्यटक दुवै छन् । बाह्यमा भारतीय पर्यटकको आगमन तीव्ररुपमा बढेको छ । यसले हामी व्यवसायीहरू उत्साही छौँ,’ उनले भने । 

पोखरा–मुग्लिन सडकखण्ड अझै छिटो बन्यो भने पर्यटकको संख्या दोब्बर हुने श्रेष्ठको भनाइ छ । आन्तरिक पर्यटकहरूले पनि नयाँ वर्षमा पोखरा रोज्न थालेपछि पर्यटकको चाप बढेको उनी सुनाउँछन् । 

‘नयाँ वर्षमा फेवा महोत्सव पनि परेको छ । यसको पर्यटकलाई थप आकर्षण बढाएको छ । यो महोत्सव गत वर्षदेखि नै ब्रान्डकै रुपमा स्थापित भइसकेको छ,’ उनले भने ।अंग्रेजी नयाँ वर्षलक्षित सडक महोत्सव पोखराको ब्रान्ड नै हो । पछिल्लो समय फेवा महोत्सवको समयमा समेत पर्यटकको आगमनले होटलको अकुपेन्सी बढ्न थालेपछि व्यवसायी उत्साही रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । 

बिहीवार पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले उद्धघाटन गरेर शुरू भएको महोत्सव शनिवारसम्म चल्नेछ । फेवा महोत्सवले अहिले ड्यामसाइडलाई समेत समेटेको छ । पोखरामा पर्यटन व्यवसायको शुरूवात गरेको ड्यामसाइड लेकसाइड विस्तार भएसँगै ओझेलमा परेको थियो ।

एक सयभन्दा बढी होटल रहेको ड्यामसाइड पर्यटकको डेस्टिनेसन बन्दैन । तर, १९ औँ संस्करणको फेवा महोत्सवले ओझेलमा परेको ड्यामसाइडलाई समेटेर महोत्सव शुरू गरेको छ । महोत्सवमा नेपाली कला संस्कृतिको प्रस्तुतिसँगै कन्सर्ट पनि हुनेछ ।  

प्रतिक्रिया दिनुहोस