चितवनको दुर्गम गाउँ मायाटार बिजुलीले झलमल्ल

रासस

आइतबार, २५ चैत्र २०८०, ११ : १६
चितवनको दुर्गम गाउँ मायाटार बिजुलीले झलमल्ल

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-२ को दुर्गम गाउँ मायाटारमा पहिलो पटक विद्युत् सेवा पुगेको छ । शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बत्ती बालेर अन्धकारको युग अन्त्य भएको बताए । 

विद्युत् सेवा पुग्न बाँकी मायाटार, रमाइलो डाँडा, तेर्से गाउँ, डाँडागाउँ, हेप्चे र घुर्केसलगायत एक सय घर बढीमा बिजुली पुगेको अध्यक्ष गुरुङले बताए । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र र इच्छाकामना गाउँपालिकाको सहयोगमा विपन्न परिवारलाई ‘मिटर बक्स, केबल र एमसिभी’ वितरण गरिएको छ । इच्छाकामना गाउँपालिकाका अध्यक्ष गुरुङ, नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ, वडा नं २ का अध्यक्ष पञ्चबहादुर चेपाङले सो क्षेत्रका विपन्न ६० घरमा निःशुल्क मिटरबक्स, कबललगायत  उपकरण निःशुल्क वितरण गरे । प्राविधिकले तिनलाई जडान पनि गरेका छन् । 

इच्छाकामना गाउँपालिका–१ को दुई सय घरमा विद्युत् सेवा पुगेपछि गाउँ नै झलमल्ल भएको छ । वैशाख लागेपछि बाँकी क्षेत्रमा पनि सेवा विस्तार गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस