कांग्रेसले अब देशको नेतृत्व गर्न पाइँदैन भन्ने डरले विरोध गरिरहेको छ : मन्त्री अर्याल

सफल खबर संवाददाता

शनिबार, २४ चैत्र २०८०, ११ : १०
कांग्रेसले अब देशको नेतृत्व गर्न पाइँदैन भन्ने डरले विरोध गरिरहेको छ :  मन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले कांग्रेसका युवा नेताहरुले विरोध गरिरहेको आरोप लगाएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले लोकतन्त्र सिकाउन खोज्ने कांग्रेसले आफूलाई बोल्नका लागि मात्रै लोकतन्त्र ल्याएको भनेको हो ? भन्दै प्रश्नसमेत गरे । मन्त्री अर्याललले कांग्रेसका युवा नेताहरुलाई पार्टीका पुरानो पुस्ता सकिएपछि आफूहरुले नै नेतृत्व गर्न पाइन्छ भन्ने भएको भएपनि रास्वपा आइसकेपछि आफूहरुको अस्तित्व मेटिने र सरकारको नेतृत्व गर्न नपाइने डरले रास्वपाप्रति आक्रमण गरिरहेको बताए ।

उनले देशको नेतृत्व गर्न नपाउने छटपटिमा कांग्रेसका युवा नेताहरु तड्पिएको बताए । अर्यालले आरोप र प्रश्न गरिसकेपछि जवाफ सुन्ने ल्याकत राख्न कांग्रेसलाई आग्रह गरे । उनले कांग्रेसले हामी बोली रहन्छौँ, तँ सुनिराख, तर बोल्ःन पाउँदैनस् भन्ने ध्येयका साथ आरोप लगाइरहेको बताए ।

‘हामीलाई उहाँहरुले लोकतन्त्र सिकाउनु हुन्छ, अझ युवाले । उहाँहरुलाई के थियो भने एउटा पुस्ता सकिएपछि हाम्रो पालो आउँछ । तर रास्वपा आयो, अब त त्यो पुस्ता सकिएपछि पनि हाम्रो पालो नआउने भयो भनेर उहाँहरुमा छटपटि भएको छ’ मन्त्री अर्यालले भने, ‘अचम्म लाग्छ । जनताले त भोट हालिहाल्छ नि तपाईंले राम्रो काम गर्नुभयो भने । वाकतन्त्र, वाकतन्त्र, लोकतन्त्र, प्रजातन्त्र, ए हाम्रो ७० वर्षको, ५० वर्षको इतिहास छ, लौ न त ठिकै छ, तपाईंले नै सिकाएको लोकतन्त्रअनुसार हामीले पनि त बोल्न पाउँछ होला, तपाईंले मात्रै बोल्ने लोकतन्त्र त भन्नुभएको होइन होला ।’ 

उपसभापति अर्यालले सहकारीमा आफ्नै २३ लाख लगानी डुबेको बताउँदै रकम उठाइदिनेलाई एक/दुई लाख रुपैयाँसम्म दिने बताए । उनले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नलिएको बताए । अर्यालले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नुबाहेक अरु कुनै कारोबारमा सही नगरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस