प्रतिनिधिसभा बैठकको शून्य समय : सांसदहरू कसले के भने ?

सफल खबर संवाददाता

बुधबार, २१ चैत्र २०८०, १३ : ५९
प्रतिनिधिसभा बैठकको शून्य समय : सांसदहरू कसले के भने ?

काठमाडौँ । बुधवार बसेको प्रतिनिधि सभाको शून्य समय सांसदहरूले वैवाहिक समारोहमा हुने तडकभडक रोक्नुपर्नेदेखि सहरकारी ठगी गर्ने मन्त्रीहरूको विषयमा छानबिन गर्न माग गरेका छन् । उनीहरूले किसानको दूधको भुक्तानी गर्न, जोखिमपूर्ण सडक सुधार गर्न,सहकारी ठगी प्रकरण छानबिन अगाडि बढाउन,वीर अस्पतालमा आवश्यक जनशक्ति पूर्ति गर्न भन्दै सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले वैवाहिक समारोह संस्कृतिभन्दा पनि तडकभडकतिर गइरहेको बताए । उनले फिल्मी तरिकाले हल्दी, मेहन्दी लगायत बाहिरी संस्कृति भित्रिरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले  मधेसमा जन्ती हेलिकप्टरमा जाने विकृति बढेको भन्दै त्यसलाई रोक्न सम्बन्धित निकायसँग माग गरे । 

उनले भने, ‘मधेसमा जन्ती बेहुली कहाँ हेलिकोप्टरमा जाने विकृति बढ्दै छ । त्यसले तीन वटा कुरामा जोखिम बढाएको छ । यसको आर्थिक भार बेहुलीको माइतीतर्फ पर्ने, बस्तीको छाना जोखिमपूर्ण हुने, हेलिकोप्टर ल्यान्ड गर्दा व्यवस्थित हेलिप्याड नहुँदा जोखिमपूर्ण हुन्छ ।  त्यसैले सबै साझेदारको ध्यानाकर्षण गराउन चाहन्छु । यो विकृतिलाई रोक्न आवश्यक पहलकदमी होस् ।’

नेकपा (माओवादी केन्द्र) की सांसद विमला सुवेदीले वीर अस्पतालमा जनशक्ति अभावको कारण देखाउँदै आकस्मिक कक्षलाई गोदाम बनाउने काम भएको भन्दै तत्काल आवश्यक जनशक्ति पूर्ति गर्न सरकारसँग माग गरिन् । आवश्यक जनशक्ति पूर्ति गरी वीर अस्पतालमा आकस्मिक कक्ष लगायत उपचारलाई निरन्तरता दिन माग गरिन् । 

यस्तै प्रतिनिधि सभा सांसद महेन्द्रकुमार रायले महोत्तरी जिल्लाको भिटामोर भन्सार कार्यालयमा तेस्रो मुलुकबाट आउने समानहरूको भन्सार काट्ने अनुमति दिन माग गरे । उनले उक्त भन्सारमा ड्राइपोर्ट निर्माणको लागि आगामी आर्थिक वर्षमा बजेटमा सुख्खा बन्दरगाह निर्माणको लागि सम्बन्धित निकायसँग माग गरे । 

यस्तै  एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानहरुले लामो समयदेखि दुध भुक्तानीको रकम नपाएको भन्दै तत्काल उपलब्ध गराउन माग गरे । उनले देशभर करिव ५ अर्ब भन्दा बढी दूधको मूल्य भुक्तानी सरकारले गर्नुपर्नेमा मकवानपुर जिल्लाका किसानहरूलाई मात्रै करिव ६० करोड रहेको बताए । 

यस्तै नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अरनिको राजमार्ग अन्तर्गत जुरे पहिरोदेखि तातोपानी लिपिङसम्मको सडक खण्डको यात्रा कष्टकर रहेको बताए । उनले उक्त सडक बर्सातमा भयावह र जटिल हुने निश्चित रहेको भन्दै मर्मतको लागि सरकारको ध्यानाकर्षण गराए । 

नेपाली काँग्रेसकी सांसद रमा कोइराला पौड्यालले सहकारी ठगी प्रकरणका सरकारका गृहमन्त्रीदेखि श्रम मन्त्रीसँग जोडिएको बताइन् । उनले सरकारले सहकारी ठगीको छानबिन गर्ने बाटो बन्द गरेको भन्दै तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन माग गरिन् । उनले ऊर्जामन्त्री शक्ति बस्नेतको पनि नाम जोडिएको भन्दै अब सांसदहरूले सार्वजनिक सवारी साधनमा हिँड्दा सांसदको लोगो लगाएर हिँड्न गाह्रो भएको दाबी गरिन् । 

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले गृह मन्त्रालय पिएसोको आतङ्क बनेको बताए । उनले पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीका पीएसोहरु जतिसुकै नम्बरमा भए पनि प्रमोसन भइहाल्नुपर्ने अवस्था आएको बताए । 

 

 

प्रतिक्रिया दिनुहोस